मटकोरबा पोखरी छेउको फोहोर नउठ्दा स्थानीय हैरान


जनकपुरधाम, २० साउन । जनकपुरधाम उपमहानगरपालिका–४ स्थित मटकोरबा पोखरी नजिक डि.एम. बोर्डिङ स्कुलको छेउमा एक सातादेखि थुप्रिएको फोहोर नउठाइँदा स्थानीयवासीहरू हैरान भएका छन् ।
फोहोरको दुर्गन्ध, कीरा, संक्रमणको डर र बालबालिकाको स्वास्थ्यमा असर पर्ने जोखिमबीच पनि जिम्मेवार निकायको मौनताप्रति स्थानीय आक्रोशित छन् ।
स्थानीय युवा कौशल मिश्रले वडास्तरीय जनप्रतिनिधिहरू जनताको समस्याप्रति उदासीन रहँदै ‘कमिशनमुखी राजनीति’मा रमाएको आरोप लगाए । ‘हामीले पटक–पटक गुहार गर्यौँ । तर, कुनै सुनुवाइ भएन । वडा अध्यक्षदेखि सफाइ शाखासम्म सबैलाई जानकारी दिइएको छ । तर, न त फोहोर उठाउने ट्र्याक्टर आयो, न त कुनै जनप्रतिनिधि आफैं आएर समस्या नै बुझे,’ उनले भने ।
स्थानीयका अनुसार उक्त स्थानमा विद्यालयको नजिकै फोहोर थुप्रिँदा विद्यार्थीहरूको आवतजावतमा समेत समस्या परेको छ । दुर्गन्धको कारणले विद्यालय प्रशासन पनि असहज महसुस गरिरहेको छ । ‘विद्यालयको छेउमै यो हालत छ । कल्पना गर्नुस् बालबालिकाको स्वास्थ्यमा कस्तो असर पर्ला,’ एक अभिभावकले गुनासो गरे ।
वडामा ट्र्याक्टर सुविधा भए पनि फोहोर किन नउठाइएको भन्ने प्रश्न झन् जटिल बन्दै गएको छ । ‘वडामा ट्र्याक्टर छ । कामदार छन् । तर, फोहोर उठ्दैन । किनभने सबै जनप्रतिनिधि ठेक्कापट्टा र बजेटमा कति कमिशन आउँछ भन्नेमा मात्र ब्यस्त छन्,’ मिश्रले आरोप लगाए ।
जनकपुरधाम उपमहानगरपालिकाले ‘स्वच्छ शहर, हरित शहर’ भन्ने नारा लागु गरे पनि व्यवहारमा त्यो नाराको प्रभाव देखिएको छैन । फोहोर व्यवस्थापनका लागि करोडौं बजेट खर्च हुने गरे पनि ठेक्का प्रक्रियाको अपारदर्शिता, कार्यान्वयनको कमजोरी र जिम्मेवार निकायको उदासीनताले जनतालाई झन् पीडा थपेको छ ।
स्थानीय युवा समूहहरूले फोहोर तत्काल नउठाइए जनप्रतिनिधिको कार्यालय घेराउ गर्ने र सडक अवरोध गर्ने चेतावनीसमेत दिएका छन् । ‘हामी वर्षा याममा रोगको जोखिममा बाँचिरहेका छौं । यो लापरबाही अब सहन सकिँदैन,’ मिश्रले भने ।
आनन्द नगरमा रहेको माधव सेवा समिति हुँदै क्याम्पस चौक जाने बाटोमा पनि फोहोरको यस्तै अवस्था रहेको मिश्रले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर
