सुनकोशी मरिण आयोजना अलपत्र, सिँचाइ संकटले तराई–मधेशको कृषिमा असर

जनकपुरधाम, १५ साउन । तराई–मधेश नेपालको खाद्य भण्डारको रूपमा चिनिन्छ । तर, यही समृद्ध क्षेत्र अहिले गम्भीर सुक्खा संकटको चपेटामा परेको छ । वर्षा अभाव र सिंचाइको चरम कमीका कारण मधेश प्रदेशका अधिकांश किसान निराश छन् । कृषकहरूले धान रोप्न सकेका छैनन् भने रोपिएको धान पनि सुक्न थालेको छ ।
मधेश प्रदेशका आठ जिल्लामा रोपाइँ हुने ३ लाख ७२ हजार ६४५ हेक्टर क्षेत्रमध्ये हालसम्म ५१ प्रतिशत अर्थात् १ लाख ९३ हजार ११६ हेक्टरमा मात्र रोपाइँ सम्पन्न भएको प्रदेश कृषि विकास निर्देशनालयको तथ्याङ्क छ । अघिल्लो वर्ष यही अवधिमा ८३ प्रतिशत खेतमा रोपाइँ सकिएको थियो ।
वरिष्ठ बागवानी विकास अधिकृत प्रदीपकुमार यादव भन्छन्, ‘सिंचाइ र वर्षाको चरम अभावले रोपिएको धान सुक्दै छ । खेतहरू धाँजा फाटेर चिरा परेको देखिन्छ । कृषकको अनुहारमा निराशा स्पष्ट देखिन्छ ।’
तराई–मधेशलाई दीर्घकालीन रूपमा सिंचाइको सुनिश्चितता दिने उद्देश्यसहित निर्माण भइरहेको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना आशाको केन्द्र हो । आयोजनाबाट धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारामा १ लाख २२ हजार हेक्टर क्षेत्रमा वर्षैभरि सिंचाइ सुविधा पुग्ने लक्ष्य छ ।
१३.३ किलोमिटर लामो सुरुङमार्फत सुनकोशी नदीको पानी मरिण हुँदै बागमती सिँचाइ आयोजनासम्म पुर्याउने योजना अन्तर्गत सुरुङ निर्माण १५ महिना अगाडि नै सम्पन्न भइसकेको छ । करीब १० अर्ब रुपैयाँ खर्च भइसकेको यो आयोजनामा मुख्य बाँधको निर्माण कार्य भने अहिले पनि १० प्रतिशतमै सीमित छ ।
ठेक्का पाएको ‘रमण–पटेल जेभी’ कम्पनीले ३० महिनाको अवधिमा अनुमानित लागतभन्दा ३२ प्रतिशत कम मूल्यमा ठेक्का लिएर काम थालेको भए पनि हालसम्म उल्लेख्य प्रगति गर्न सकेको छैन । आयोजना निर्देशक बद्री कार्की भन्छन्, ‘सुरुङ तयार भएको १५ महिना भइसक्यो । तर, बाँध निर्माण अत्यन्त सुस्त गतिमा भइरहेको छ । कम्पनीले १ अर्ब १२ करोड भुक्तानी लिइसकेको छ तर प्रगति निराशाजनक छ ।’
धान रोपाइँमा देखिएको यो संकटले उत्पादनमा व्यापक गिरावट आउने निश्चित देखिन्छ । धनुषा र महोत्तरीमा ३५ प्रतिशत हाराहारीमा मात्र रोपाइँ सकिएको छ भने बारामा ८० प्रतिशत रोपाइँ भएको छ । धनुषाका किसान रमेश यादव भन्छन्, ‘गत वर्ष राम्रै धान फल्यो । तर, यसपालि त रोप्ने पानी नै छैन । रोपिएको पनि जोगिएला कि जोगिएन भन्ने चिन्ता छ ।’
सुनकोशी मरिण आयोजना सफल भएमा सिँचाइसँगै ३१ मेगावाट विद्युत् उत्पादन पनि हुनेछ । साथै, माछापालन, पर्यटन, जलाशय तथा जल स्रोतमा आधारित व्यवसायहरू विस्तार हुने अपेक्षा गरिएको छ । निर्देशक कार्की भन्छन्, ‘वर्षैभरि सिँचाइ सुविधा पाउने भएपछि उत्पादनमा आत्मनिर्भरता र आयात प्रतिस्थापन गर्न सजिलो हुन्छ । तर, यसको लागि अब कामको गति तत्काल बढाउनु जरुरी छ ।’
२०७३/७४ मा राष्ट्रिय गौरवको आयोजना घोषणा गरिएको सुनकोशी मरिण अहिले ढिलासुस्ती, स्रोत परिचालनको अभाव र कमजोरी व्यवस्थापनका कारण अलपत्र छ । यदि यही ढर्रामा निर्माण कम्पनीले काम निरन्तर लम्ब्याइरहेमा सरकारले कडा निर्णय लिनु पर्ने अवस्था आएको छ । नत्र, करोडौं लगानी र लाखौं कृषकको आशा र मेहनत पानीमा जानसक्नेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

