जनकपुरधाम, १५ साउन । मधेश प्रदेशका विभिन्न जिल्लामा चर्किएको सिँचाइ तथा खानेपानीको समस्याबारे ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादवलाई नेपाली कांग्रेसका शीर्ष नेता, प्रदेश सांसद तथा जनप्रतिनिधिहरूको टोलीले औपचारिक रूपमा ध्यानाकर्षण गराएको छ ।

नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवको नेतृत्वमा बिहीवार मन्त्रालय पुगेको टोलीले पछिल्ला दिनहरूमा मधेशमा परेको खडेरी, सुख्खा र बोरिङ अभावका कारण जनजीवन कष्टकर बन्दै गएको जानकारी गराउँदै तत्काल राहत र स्थायी समाधानको माग राखेको थियो ।

सह–महामन्त्री यादवले प्रदेशभर फैलिएको जलस्रोतको संकटलाई ‘विकराल’ भन्दै तत्काल चालु अवस्थामा रहेका पुराना तथा अधुरा बोरिङहरू सञ्चालनमा ल्याउनुपर्ने आवश्यकता औँल्याए । उनले भने, ‘सबै ठाउँमा नयाँ बोरिङ जडान सम्भव नभए पनि कम्तीमा पुराना संरचना सञ्चालन योग्य बनाइनुपर्छ ।’

प्रदेश सांसद कुमारकान्त झाले मधेश प्रदेश जस्तो अन्न भण्डार भनिने क्षेत्रमै खानेपानी र सिँचाइको चरम संकट हुनु लाजमर्दो अवस्था भएको बताए । ‘समयमै समाधान भएन भने जनता भोक र तिर्खाले मर्ने अवस्था आउन सक्छ,’ उनले चेतावनी दिए ।

बैठकमा मन्त्रालयका निमित्त सचिव रामकुमार खंगले प्रदेश सरकारसँग तत्काल खर्च गर्न सक्ने पर्याप्त बजेट नभएको स्वीकार गर्दै संघीय सरकारबाट रकम प्राप्त हुनासाथ समस्या समाधानको पहल थालिने जानकारी दिए । उनले संघीय सरकारले घोषणा गरेको ५०० बोरिङ जडान प्याकेज आएपछि काम तीव्र गतिमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

उनका अनुसार संघीय सरकारको ३७१ वटा खानेपानी आयोजना अधुरो अवस्थामा छन् । बजेट सीमित भएकाले सबै परियोजना सम्पन्न गर्न चुनौती रहेको पनि उनले बताए ।

मन्त्री यादवले संघीय सरकारबाट रकम ढिलो आएको कारण विगतमा धेरै बोरिङहरू अधुरो अवस्थामा रहेको स्वीकार गरे । ‘रकम आएलगत्तै ती अधुरा योजनालाई प्राथमिकतामा राखी अघि बढाइनेछ,’ मन्त्री यादवले स्पष्ट पारे । उनले थपे, ‘हामी तयारी अवस्थामा छौं । अहिले पनि डिपबोरिङको काम थालिएको छ । तर, त्यो अपुग छ ।’

सह–महामन्त्री यादव, प्रदेश सांसद झा र अञ्जु पण्डितसहित मिथिला नगरपालिकाका मेयर महेन्द्र महतो, नगरका विभिन्न वडाध्यक्ष तथा कांग्रेसका नेताहरू श्याम यादव, मदन घिमिरेलगायतको उपस्थिति रहेको उक्त प्रतिनिधिमण्डलले सरकारलाई जनताका प्राथमिक समस्या तुरुन्त सम्बोधन गर्न आग्रह गरेको थियो ।

मधेश प्रदेशमा विशेषगरी सिँचाइ अभावले खेती चौपट हुँदै गएको र खानेपानीको स्रोत सुक्दै जाँदा सर्वसाधारणलाई दैनिक जीवनमा कठिनाइ भइरहेको स्थानीयको गुनासो रहेको छ ।