जनकपुरधाम, ३२ असार । गठबन्धन सरकारले सत्ताको बागडोर सम्हालेको एक वर्ष पुगिसक्दा नागरिकहरूले सुशासनको अपेक्षा गरे पनि भ्रष्टाचार, शक्ति दुरुपयोग र अनियमितताले मुलुकलाई नराम्रो दिशामा धकेलेको भन्दै तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रिय सदस्य उमेश मण्डलले सरकारको आलोचना गरेका छन् ।

‘सरकारले सुशासनको सपना देखायो । तर, व्यवहारमा घुस, तस्करी, अपारदर्शी नियुक्ति र अर्बौंको भ्रष्टाचार देखियो,’ मण्डलले भने, ‘देश इतिहासकै सबैभन्दा संस्थागत भ्रष्टाचारतर्फ गइरहेको छ ।’

एक वर्षको अवधिमा मच्चिएका १२ प्रमुख विवादित काण्डहरूको चर्चा गर्दै मण्डलले सरकारको नीति र नियत दुबै प्रश्नको घेरामा रहेको आरोप लगाए । संघीय मामिला मन्त्री राजकुमार गुप्ताको घुसकाण्डदेखि लिएर टेरामक्स औषधि घोटाला, पोखरा र गौतमबुद्ध विमानस्थलको भ्रष्टाचारदेखि कुलिङ पिरियड उल्लंघनसम्मका घटनाले राज्य संयन्त्रको नैतिक धरातल कमजोर पारेको उनको भनाइ छ ।

‘राजनीति बदल्न आएको भनेर आएका नेताहरू आफैँ भ्रष्टाचारमा मुछिँदा जनताको विश्वास चकनाचुर भएको छ । रवि लामिछानेमाथि भइरहेको प्रतिशोधको राजनीति र सहकारी घोटालामा संलग्न ठूला माछाहरूको संरक्षणले यो सरकारको चरित्र प्रष्ट देखाउँछ,’ मण्डलले भने ।

उनले सरकारको पछिल्लो कार्यशैलीलाई ’संस्थागत भ्रष्टाचारको नयाँ संस्करण’ भन्दै आरोप लगाए । ‘भ्रष्टाचार न्युनीकरण नभई संस्थागत रुपले भ्रष्टाचार मौलाउँदै गएको छ । अब देश यति सजिलै चल्दैन,’ मण्डलले भने ।

नेता मण्डलले निष्पक्ष छानबिन र दोषीलाई कानुनी कारबाही, पारदर्शी नियुक्ति प्रक्रिया र बजेट खर्चमा जनसंख्या आधारित निगरानी, अख्तियार, लेखा समिति र लोकसेवा आयोगको भूमिका अझ प्रभावकारी बनाउनेलगायतका उपायहरू तत्काल लागू गर्नुपर्ने बताए ।

‘जनताले विकल्प खोज्न थालेका छन् । यो सरकार जनताको आँखा छलेर जति दिन चल्छ, त्यति नै लोकतन्त्र कमजोर हुन्छ,’ उनले भने ।