–ज्योति झा
जनकपुरधाम, १३ जेठ ।
मिथिलाको सांस्कृतिक पहिचान झल्काउने बटसावित्री व्रत (बरसाइत पर्व) मिथिलाञ्चलमा सोमबार श्रद्धा, भक्ति र उत्साहकासाथ मनाइएको छ । बर अर्थात वटवृक्षको पूजा गरिने यो पर्व खासगरी सधबा (अहिबाती) महिलाहरूले आफ्नो श्रीमानको दीर्घायु, सुख–समृद्धिका लागि मनाउने गर्छन् ।

बरसाइत पर्व सावित्री र सत्यवानको प्रेम, समर्पण र साहसको कथा समेटिएको दिन हो । पौराणिक मान्यताअनुसार सावित्रीले आफ्नो श्रीमानको मृत्युवरण गर्ने समय थाहा हुँदाहुँदै पनि साथ नछोडी यमराजसँग जुझेर उहाँको प्राण फर्काइन् । यही प्रतीकको रुपमा बरको रुखलाई श्रीमानको प्रतिक मानी पूजा गरिन्छ । त्यसैले यो पर्व प्रेम, निष्ठा र समर्पणको प्रतीक बन्न पुगेको छ ।

पहिला मुख्यतया ब्राह्मण, कायस्थ, सोनार, भूमिहार समुदायमा सीमित यो पर्व अहिले अन्य जातीय समुदायका महिलाहरूले पनि श्रद्धापूर्वक मनाउन थालेका छन् । नवविवाहिताहरुको लागि यो व्रत अझ महत्वपूर्ण मानिन्छ । पर्वमा ससुरालीबाट कोसेली पठाउने परम्परा अझै कायम छ ।

कोसेलीमा साडी, चोलो, चना, लिच्ची, आँप, बाँसको पंखा, माटोको विषहरा, धागो र कपडाको बर कनिया राखिने गर्छ । पूजा विधिमा बरको रुखमुनि सत्यवान–सावित्रीको कथा र नाग–नागिनको कथा सुन्ने, जल अर्पण गर्ने, वर घुमेर धागो बाँध्ने लगायतका परम्परा समावेश हुन्छन् ।

यद्यपि पर्वको भावनात्मक र धार्मिक महत्व घट्दै गएको भन्दै केही महिलाहरूले आधुनिक देखासिकी र फेसनको होडले परम्परा बिग्रिएको गुनासो गरेकी छन् । प्रकौलीकी मीरा पाठक भन्छिन्, ‘अब व्रतभन्दा पनि प्रदर्शन बढेको छ । अब बर पूजा नभई श्रीमानको पूजा फोटो र भिडियो खिच्नका लागि गरिन थालिएको छ ।’

नेतृ बिन्दु ठाकुर अझ कडा टिप्पणी गर्दै भन्छिन्, ‘महिला यति शक्तिशाली छ जसको सामना पुरुषले गर्न सक्दैन । त्यही भएर केटी अर्थात महिलाको पहिलो विवाह बृक्ष बोटसंग गरिन्छ । त्यही कारण मिथिलामा विवाह अघि आम विवाह हुन्छ । आम बोटसंग विवाह । पहिला पुजा हुन्थ्यो,अब देखसिखी हुन्छ । अहिले देखासिकीले त्यो पनि शो बनिसकेको छ । होडबाजी छ, कसको गहना भारी? कसको साडी चम्किलो?’

यसबिचमा नयाँ पुस्ताले परम्परामा अधिकार खोज्न थालेका छन् । स्थानीय रेखा देवी भन्छिन्, ‘अखण्ड सौभाग्यका लागि गरिने कुनै पनि व्रत एक समुदायको मात्र होइन । म पनि विगत दुई वर्षदेखि यो व्रत गर्छु, पतिको दीर्घायुको कामनाका साथ ।’

यसले देखाउँछ कि बरसाइत अब एउटा जातीय सिमानाभित्र कैद नभएर व्यक्तिगत श्रद्धा र इच्छाको विषय बन्दै गएको छ ।

बरसाइत पर्व प्रकृतिसँग पनि गहिरो सम्बन्ध राख्दछ । वटवृक्षलाई व्रह्मा, विष्णु र महादेवको वासस्थान मानिन्छ । त्यस्तै, बाँसको पंखा, लिच्ची, आँप, चना जस्ता मौसमी र स्थानीय सामग्रीहरूको प्रयोगले स्थानीय जीवनशैली र मौसमसँगको सहअस्तित्व झल्काउँछ ।

८५ वर्षीया अमेरिका देवी भन्छिन्, ‘आजकल न त कथा बुझिन्छ, न विधि थाहा छ । सबै नक्कल गर्छन् । अरूले गरेको देखेर गर्छन् । तर, नियम नअपनाई प्रदर्शन मात्रै भए परम्पराको अर्थ नै हराउँछ ।’

बरसाइत व्रत नारीको प्रेम, सहनशीलता, अडान र आस्थाको प्रतीक हो । तर, बदलिंदो समयसँगै यो पर्व फेसन, प्रदर्शन र प्रतिस्पर्धाको चपेटामा पर्न थालेको चिन्ता पनि व्याप्त छ ।

साँचो आस्थाले पूजिएको पर्वले समाजमा सकारात्मक ऊर्जा र समर्पणको भाव फैलाउन सक्छ । तर, परम्परा जोगाउन प्रदर्शनभन्दा पनि भावनाको संरक्षण आवश्यक छ ।