जनकपुरधाम, ११ जेठ । लामो प्रतिक्षापछि धनुषाको कमला नगरपालिका–९ मा अवस्थित दुबरकोट बर्थिङ सेन्टर आइतबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ ।

एक भव्य समारोहका बीच उद्घाटन गरिएको उक्त बर्थिङ सेन्टरले आसपासका महिलाहरूको सुरक्षित प्रसूति सेवा सुनिश्चित गर्ने लक्ष्य राखेको छ ।

उद्घाटन समारोह वडा नं. ९ का वडाध्यक्ष रणवीर सिंह मण्डलको अध्यक्षतामा तथा नगर प्रमुख विशेश्वर यादवको प्रमुख आतिथ्यमा सम्पन्न भयो । नगर प्रमुख यादव र उपप्रमुख शिलादेवी मण्डलले संयुक्त रूपमा रिबन काटी केन्द्रको उद्घाटन गरे ।

कार्यक्रममा बोल्दै मेयर विशेश्वर यादवले कमला नगरपालिकाको सबै वडामा रहेका बर्थिङ सेन्टरहरूमा सेवाग्राही महिलालाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने घोषणा गरे । उनले भने, ‘आजैदेखि लागु हुने गरी नगरका कुनै पनि बर्थिङ सेन्टरमा सुत्केरी गराउन आउने महिलालाई एम्बुलेन्स सेवा निःशुल्क हुनेछ । जनकपुर रेफर गर्नुपरे पनि नगरपालिकाले खर्च व्यहोर्नेछ ।’

यस निर्णयले ग्रामीण तथा सुदूर क्षेत्रका महिलाहरूलाई सुरक्षित ढंगले स्वास्थ्य संस्थामा पुग्न सहज हुने जनस्वास्थ्यकर्मीहरू बताउँछन् ।

कार्यक्रममा उपमेयर शिलादेवी मण्डलले बर्थिङ सेन्टर स्थापनाको यात्रा झण्डै सात वर्ष लामो भएको बताउँदै भनिन्, ‘२०७४ सालदेखि नै यो केन्द्र स्थापना गर्ने प्रयास गर्दै आएको थिएँ । आज मेरो गाउँमै यस्तो सुविधा सुरु भएको देख्दा मन आनन्दित भएको छ ।’ उनले सुविधाको स्थायीत्व र सेवा गुणस्तरलाई प्राथमिकता दिन सबैलाई आग्रह गरिन् ।

हाल सञ्चालनमा आएको बर्थिङ सेन्टरमा तीन वटा प्रसूति बेड राखिएको छ भने एक विशेष सघन कक्ष पनि निर्माण गरिएको छ । स्वास्थ्यकर्मीहरूका अनुसार मँगराहा, सखुवा मडान, लक्कड, टरिया लगायत आसपासका बस्तीका गर्भवती महिलाहरूले केन्द्रबाट सहज सेवा पाउनेछन् ।

उद्घाटन समारोहमा जिल्ला स्वास्थ्य कार्यालयका प्रतिनिधि, नगरपालिकाका स्वास्थ्य संयोजक रामकुमार ठाकुर, योजना शाखा प्रमुख बिरेन्द्र कुमार सडान, स्वास्थ्य चौकीका इन्चार्ज, विभिन्न वडाका स्वास्थ्यकर्मी, स्थानीय अगुवा तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियो ।

कमला नगरपालिकाका स्वास्थ्य संयोजक ठाकुरले संचालन गरेको कार्यक्रममा सहभागीहरूबाट सेवा गुणस्तरका लागि आवश्यक जनशक्ति, उपकरण र औषधिको व्यवस्थापनमा ध्यान दिन सुझाव दिइएको थियो ।