जनकपुरधाम, २ जेठ । नेपालको जनकपुरधाम र भारतको बिहार राज्यस्थित पुनौराधाम (सितामढी)– यी दुई पवित्र स्थलहरू जानकी (सीता माता) को जीवनसँग अभिन्न रूपमा जोडिएका छन् । जनकपुरधामलाई सीताको जन्मस्थल मानिन्छ भने पुनौराधामलाई उनको प्राकट्यस्थल । दुबै स्थलमा जानकी मन्दिर अवस्थित भए तापनि संरक्षण, प्रवर्द्धन र पूर्वाधार सुविधाको दृष्टिले दुईबीच अन्तर देखिन्छ ।

जनकपुर नागरिक समाजका अगुवा मुरली मनोहर मिश्र भन्छन्, ‘माता जानकीकै नाममा बसेका यी दुई तीर्थस्थलहरू धार्मिक दृष्टिले एकै दर्जाका भए पनि जनकपुरधाम मन्दिर अझै सरकारी उपेक्षाको मारमा छ ।’

जनकपुरधामस्थित जानकी मन्दिर सन् १९१० मा भारतको टिकमगढ राज्यकी महारानी वृषभानु कुँवर द्वारा निर्माण गराइएको भव्य संरचना हो । यो मन्दिर राजस्थानी तथा मुगल वास्तुकलाको अनुपम मिश्रण हो । यो स्थापत्यका दृष्टिले दक्षिण एशियामै अनुपम मानिन्छ । सालैभरि श्रद्धालुहरूको ओइरो लागिरहने जानकी मन्दिरमा विशेष गरी विवाह पञ्चमी, राम नवमी, जानकी नवमीजस्ता पर्वहरूमा लाखौं भक्तजन नेपालको विभिन्न भूभाग र भारतबाट जनकपुरधाम आइपुग्छन् ।

त्यस्तै, भारतको बिहार राज्यको पुनौराधामस्थित जानकी मन्दिर पनि अत्यन्त श्रद्धा र आस्थाको केन्द्र हो । जानकीको पृथ्वीबाट प्राकट्य भएको स्थल मानिने पुनौराधाम स्थानीयबासी मात्र नभई सम्पूर्ण भारतभरिका हिन्दू समुदायका लागि पनि पूजनीय तीर्थस्थल हो ।

भारतको पुनौराधाम रामायण सर्किट अन्तर्गत पर्ने महत्त्वपूर्ण स्थल हो । भारत सरकारद्वारा धार्मिक पर्यटन प्रवर्द्धन कार्यक्रमअन्तर्गत यहाँ सडक, बिजुली, शौचालय, पानी, पार्किङजस्ता आधारभूत पूर्वाधार विकास गरिएका छन् । सरकारी आयोजनाहरू सीता नवमी र अन्य पर्वमा नियमित सञ्चालन हुन्छन् ।

तर, नेपालस्थित जनकपुरधाम मन्दिर भने त्यस्तो संरचनात्मक संरक्षण र व्यवस्थापनबाट टाढा देखिन्छ । मिश्र भन्छन्, ‘जानकी फुलबारी अतिक्रमणमा परेको छ । गोपाल धर्मशालाको दुरुपयोग भइरहेको छ । मन्दिर छेगछाउमै मांस–मदिरा बिक्री हुनु अत्यन्त दुःखद र धार्मिक असहिष्णुताको उदाहरण हो ।’ उनले आरोप लगाउँदै भने, ‘यहाँको प्राचीन गौरवलाई पुनस्र्थापित गर्न न त स्थानीय तह सक्रिय देखिन्छ, न केन्द्र सरकार ।’

जानकी मन्दिर भारत र नेपालको साझा धार्मिक–सांस्कृतिक सम्पदा हो भन्ने प्रमाण मन्दिर निर्माणमा भारतीय महारानीको योगदान र लाखौं भारतीय श्रद्धालुहरूको निरन्तर उपस्थिति स्वयं हो । अतः जानकी मन्दिरको समुचित संरक्षण केवल नेपालको मात्र नभई भारतको पनि साझा उत्तरदायित्व हो ।

मन्दिरको सुदृढीकरणका लागि मिश्रले जानकी फुलबारीलाई अतिक्रमणमुक्त बनाउन, मन्दिर परिसरमा हुने अनैतिक र अपवित्र गतिविधिमा पूर्ण रोक लगाउन, महारानी वृषभानु कुँवरको योगदानको सम्मानस्वरूप मूर्ति स्थापना गर्न, नेपाल–भारत सहकार्यमा धार्मिक पर्यटन योजना अघि बढाउन, सांस्कृतिक, शैक्षिक र आध्यात्मिक कार्यक्रमहरू सञ्चालन गरेर जनकपुरलाई धार्मिक पर्यटन केन्द्रको रूपमा अन्तर्राष्ट्रियस्तरमा उभ्याउन सकिने सुझाव दिएका छन् ।

जानकी मन्दिर केवल जनकपुरधामको मात्र सम्पत्ति होइन । यो सम्पूर्ण हिन्दू समाजको आस्था र सांस्कृतिक पहिचान हो । जानकीको नाममा रहेका तीर्थस्थलहरूबीच समन्वय र सहकार्यको अभावले भविष्यमा धार्मिक पर्यटनको ठूलो अवसर गुम्न सक्छ ।

मिश्र भन्छन्, ‘सीता माता कुनै राष्ट्र वा सीमाभित्र सिमित पात्र होइनन् । उनी सम्पूर्ण मानवता र नारी शक्ति–सम्मानकी प्रतीक हुन् । जनकपुरधाम र पुनौराधामको साझा संवर्द्धनले दुवै देशको धार्मिक पर्यटनलाई नयाँ उचाइमा पुर्याउनेछ ।’