‘राजनीतिक अभिष्ट पुरा गर्न अभिभावककै विरोध गर्नु समाज बिगार्ने षडयन्त्र’

–त्रिलोक कुमार यादव
जनकपुरधाम, १० माघ । जनकपुरधाममा स्थापित राजर्षि जनक विश्वविद्यालय क्षेत्रीय तथा प्राविधिक शिक्षामा नयाँ युगको शुरुवातको प्रतीक हो । नेपाली समाजमा शिक्षास्तरलाई उकास्न र प्राविधिक शिक्षालाई सरकारी तहबाट सरल, सुलभ र सहज बनाउनका लागि यो विश्वविद्यालयको स्थापना गरिएको हो । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि शिक्षामन्त्री हुँदा जनकपुरधामलाई शिक्षाको हब बनाउने सपना देखेका थिए । तर, तत्कालीन राजनीतिक प्रतिकूलताका कारण यो सपना त्यसबेला पूरा हुन सकेन ।
२०५३ सालमा नेता निधिले तत्कालीन जिविसका सभापति रामसरोज यादवसँग जनकपुरधाममै विश्वविद्यालय स्थापना गर्ने विषयमा छलफल गरे । त्यसै वर्षको भदौ ९ र १० गते धनुषा जिल्ला विकास समितिको चौथो जिल्ला परिषद्ले राजर्षि जनक विश्वविद्यालय स्थापना गर्ने प्रस्ताव पारित गर्यो । यो अभियानलाई अगाडि बढाउन प्रत्येक गाविसबाट एक–एक लाख रुपैयाँ अनुदान दिने निर्णय भयो, जसबाट कुल १ करोड ६ लाख रुपैयाँ संकलन गरियो ।
नेता निधिको अथक प्रयासले २०७४ सालमा तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले जनकपुरधाममा राजर्षि जनक विश्वविद्यालय स्थापना गर्याे । २०७४ साल असोज २६ गते व्यवस्थापिका संसद्बाट विश्वविद्यालय सम्बन्धी विधेयक पारित भएसँगै मधेशमा पहिलो विश्वविद्यालयको स्थापना भयो । यो विश्वविद्यालयले सामाजिक विज्ञान, मानविकी, विज्ञान, प्राविधिक तथा व्यवसायिक शिक्षामा विशेष ध्यान दिएको छ ।
नेता निधिको नेतृत्वमा स्थापित यो विश्वविद्यालय क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट शिक्षा र अनुसन्धानको प्रवर्द्धन गर्न समर्पित छ । उच्च शिक्षाको पहुँचलाई सस्तो र सुलभ बनाउने लक्ष्यसाथ निधि निरन्तर यस विश्वविद्यालयको संरक्षणका लागि संघर्षरत छन् ।विश्वविद्यालयलाई थप सुदृढ गर्न केही महिना अगाडि नगराईन नगरपालिका वडा नम्बर ४, फुलगामास्थित गुठीको १० बिघा जग्गा विश्वविद्यालयको नाममा ल्याइएको छ । यो जग्गामा विश्वविद्यालयको भौतिक संरचना निर्माणका लागि विश्वविद्यालय अनुदान आयोगले १० करोड रुपैयाँ छुट्याएको छ ।
तर, विश्वविद्यालयको प्रशासनिक नेतृत्वमा चुनौतीहरू कायमै छन् । उपकुलपति, रजिस्ट्रार र क्याम्पस प्रमुखको २ वर्षे कार्यकाल बितिसक्दा पनि विश्वविद्यालय गुणस्तरीय बन्न सकेको छैन । शिक्षक र कर्मचारी नियुक्तिमा अनियमितता, धम्कीपूर्ण व्यवहार र राजनीतिकरण जस्ता गतिविधिले विश्वविद्यालयको छविमा असर पुर्याएको छ ।
यहाँ यस विश्वविद्यालयमा सस्तो शुल्कमा उच्चस्तरीय शिक्षा आर्जन गर्न पाइयोस् भन्ने उद्देश्यले निधिले समय समयमा यस विश्वविद्यालयको संरक्षणका लागि संघर्ष गरिरहेका छन् । नेपाली कांग्रेसले सदैव यस विश्वविद्यालयलाई संरक्षणका लागि संघर्ष गरेको छ । यस विश्वविद्यालयको स्थापना दिवस तथा सम्मान कार्यक्रममा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले उपकुलपतिलाई भवन निर्माण गर्नुहोस् चाहिने जति बजेट थप्नुपर्यो भने म तपाईँलाई सहयोग गर्नेछु भनि प्रोत्साहन गरेका थिए । तर, उपकुलपतिले अहिलेसम्म भवन निर्माण समेत नगर्ने मानसिकता बोकेका छन् ।
उपकुलपति, रजिस्ट्रार तथा क्याम्पस प्रमुख नियुक्त भएको २ वर्ष बितिसक्दा पनि अहिलेसम्म विश्वविद्यालय गुणस्तरीय बन्न सकेको छैन । कर्मचारी तथा शिक्षक नियुक्तिमा समेत उपकुलपति, रजिस्ट्रार तथा क्यामपस प्रमुख बिच भागबण्डा गरी पैसा उठाई नियुक्ति गरिन्छ ।उपकुलपति, रजिस्ट्रार र क्याम्पस प्रमुखद्वारा कर्मचारी एवम् शिक्षकहरू विभिन्न (सरूवा एवम् जागिरबाट निस्कासन) गर्ने खालको धाक धम्की दिएर यातना दिने काम भइरहेको छ । समय समयमा उपकुलपति, रजिस्ट्रार तथा क्यामपस प्रमुखले विश्वविधालयमा षडयन्त्र गरि विद्यार्थीहरुबिच भ्रम फैलाएर एक आपसमा लडाउने अनि बदनाम गर्ने मनसाय बोकेका छन् ।
नेविसंघ केन्द्रीय कार्यसमितिद्वारा आयोजित “जय नेपाल टि–२० कप” मा सहभागिताका लागि यस राजर्षि जनक विश्वविद्यालयका उपकुलपति एवम् क्याम्पस प्रमुखलाई पत्रचार गरिएको थियो । पत्र अनुसार दिइएको समयसिमाभित्र उपकुलपतिले नेविसंघको कार्यक्रमलाई बहिष्कार गर्ने मानसिकता बनाएर असहयोगी ढङ्गले यस विश्वविद्यालयलाई खेलबाट बाहिर राखेर उल्टै नेविसंघलाई बदनाम गराई स्ववियू समिति तथा विभिन्न संगठनलाई उस्काएर षडयन्त्रपूर्वक नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पुर्वउपसभापति विमलेन्द्र निधिको पुतला दहन गर्न लगाईयो । विश्वविद्यालयको नेतृत्वले यो घटनाको लागि क्षमा माग्नुपर्ने र भविष्यमा यस्ता गतिविधि हुन नदिने प्रतिबद्धता जनाउनुपर्ने हाम्रो माग छ ।
राजर्षि जनक विश्वविद्यालयले मधेशको शैक्षिक उन्नयनमा महत्वपूर्ण भूमिका खेलिरहेको छ । यस संस्थाको स्थापना र संरक्षणमा नेता निधिको योगदान अविस्मरणीय छ । विश्वविद्यालयले आफ्नो उद्देश्य पूरा गर्न नेतृत्वले थप जिम्मेवारीपूर्वक काम गर्नुपर्ने देखिन्छ । यहाँको शिक्षामा गुणस्तर अभिवृद्धि गर्न र विश्वविद्यालयलाई राजनीतिकरणबाट टाढा राख्न सबै पक्षले सहकार्य गर्न आवश्यक छ ।
लेखक त्रिलोक कुमार यादव, राजर्षि जनक विश्वविद्यालयमा नेविसंघबाट स्ववियु सभापतिका प्रत्यासी हुन् ।