औपचारिकतामा सिमित ‘सरस्वती पूजा’मा ‘भ्यालेन्टाइन डे’को खोजी


– ज्योति झा
फागुन, ७ गते । हाम्रो देश भाषा, संस्कृति, चाडवाड, रितिरिवाज, भेषभुषा, पहिरन, परिकार र गीत संगितलगायत अनेकौं विविधताले सम्पन्न रहिआएको छ । हाम्रो देशको विशेषता यसको सम्पन्नता, यसको ऐतिहासिकता, पुरातात्विक र सांस्कृतिक गौरव हाम्रा विविधतामा झल्किएको छ । हामी लोक संस्कृतिमा धनी छौं । बर्षभर विभिन्न चाडपर्व आउने गर्दछन । यी पर्वले हाम्रो जीवनमा उल्लास मात्र ल्याउँदैन, खास अर्थ पनि राख्छ । कुनैपनि पर्व मनाउनुको पछाडि त्यसको धार्मिक, सामाजिक तथा वैज्ञानिक महत्व हुन्छ । भर्खर हामीले बसन्तपञ्चमी मनायौं । अर्थात ज्ञान, बुद्धि र विद्याकी देवी माता सरस्वतीको पूजनोत्सवको दिन । संजोगले यसपाली सरस्वती पूजा र प्रेम दिवस अर्थात भ्यालेन्टाइन डे एकै दिन पर्यो ।
जीवनलाई उज्यालो बनाउन ज्ञानको जति आवश्यकता हुन्छ त्यति नै बाँच्नलाई प्रेमको पनि खाँचो पर्छ । प्रेम र ज्ञान बिना त जिवनको अस्तित्व नै हुँदैन । प्रेम त प्रकृतिमै छ । हाम्रो वरिपरि माटोमा, फूलमा, हावामा, घरमा, पातमा र हजारौं गुनगुनाईने गीतमा छ प्रेम । त्यसैले त भनिन्छ ‘प’ बाट प्रेम, ‘प’ बाट नै प्रकृति र ‘प’ बाट परमात्मा अर्थात परमात्माले बनाएको प्रकृतिको हरेक वस्तुमा प्रेम छ । प्रेम संसारको हरेक वस्तुमा हुन्छ, चाहे त्यो सजिव अथवा निर्जिव नै किन नहोस् । प्रेमबाट वञ्चित यो संसारमा कोही छैनन् । मलाइ लाग्छ यो संसारमा सबैभन्दा बढी परिभाषा गरेर पनि परिभाषित हुन नसकेको शब्द नै सायद प्रेम हो । प्रेम मानिस मानिसको बिचमा मात्र नभई मानिस र चराचुरुङ्गी देखि सबै प्रकारका जन्तु र जनावर बिच रहेको देखिन्छ । प्रेम त्यो हो जुन गायकले आफ्नो स्वरसँग गर्छ , प्रेम त्यो हो जुन लेखकले आफ्नो किताबका अक्षरसँग गर्छ, प्रेम दियोमा बलिरहेको आगोले गर्छ तेललाई, त्यसैले त उसले तेललाई भनिरहेको हुन्छ कि जबसम्म तिमि छौ म बलिरहेको हुन्छु ।
प्रेमले कमजोर बनाउँछ भने प्रेमले तागत पनि त्यतिकै दिन्छ । आफू र दुनियाँसँग जुध्ने क्षमताको विकास गरिदिन्छ । प्रेमको लागी कुनै खास दिन आवश्यक हुँदैन । हर दिन, हर प्रहर जिवनको हरेक पाइलामा प्रेम हुनु आवश्यक छ । म यो भन्दिन कि पश्चिमा संस्कृतिलाई हामी नमनाऔं बल्की हामी हरेक संस्कृतिलाई सम्मान र आदरका साथ अपनाऔं । तर आफ्नो पनि संस्कृतिलाई जोगाएर । सरस्वती पूजा पूजापाठ भन्दा बढि प्रेम दिवसमा केन्द्रित रहेको देखियो । विद्याको पूजा गर्ने दिनमा छाडा रुपमा बाटोमा हिंडिएको देखियो । जाँड रक्सीमा मातिएको देखियो । जबकि न ज्ञानले यस्तो सिकाउँछ न त प्रेमले नै । मूर्ति ल्याइन्छ माता सरस्वतीको तर गाना बजाइन्छ भोजपुरी अश्लिल । माताको मूर्ति एकछेउमा राखेर विद्यार्थी रक्सि खाएर नाच्नमा मग्नसमेत देखियो । स्कुलले युनिफर्ममा आउने नियम लगायो तर बाटोमा त कसले के नै गर्न सक्छ । सबैको आफ्नो स्वतन्त्रता पनि छ । तर एउटा कुरा के हेर्न पाइयो भने मानिस कसैको होइन् कि उ आफ्नो पनि रहेन । त्यसैले अहिले बाँच्न सबै बाँच्छन् तर खुशि, शान्ति र आनन्दित हुँदैनन् । न त माता सरस्वतीको स्वागत पूजा राम्राे गरि गर्छन् । न त प्रेमको सम्मान इज्जत नै गर्छन् । Like बिचौलिया भएको जस्तो । प्रेमले इज्जत गर्न सिकाउँछ । सामनेवालाको खुशीको महत्त्व राख्छ । यसले जीवन भरको साथ दिने क्षमता राख्छ । प्रेमको परिभाषा म दिन सकुँ त्यति क्षमता छैन म मा । तर यति थाहा छ कि प्रेम भावनात्मक र निस्वार्थ हुन्छ। आधुनिक माया त शारीरिक आकर्षणबाट सुरु भई ओछयानसम्म गई समाप्त हुन्छ । तर पहिलाको माया आँखादेखि सुरु भई शमसानसम्म पुगथ्यो ।
अहिले छाडा रूपमा प्रेमको नाममा एउटा गन्दा खेल भइरहेको देखिन्छ । भावनात्मक नभई शारीरिक मेल हुँदो रहेछ । भ्यालेन्टाइनडेको नाममा होटेलको रूम बुक हुँदो रहेछ । आमाबुवाले कमाएको धनको दुरूपयोग हुँदो रहेछ । स्कुलको बच्चादेखि कलेजका युवायुवतीहरु भ्यालेन्टाईनलाई फ्यासनडेको रूपमा मनाउन थालेका छन् । आफ्ना संस्कृतिलाई छोडेर पश्चिमा संस्कृतिलाई बढावा दिनमा व्यस्त छन् ।
हुन त प्रेम गर्नु पाप होइन । यो त इश्वरको वरदान हो । तर धोका दिनु पाप हो । कसैको जिवन बर्बाद गर्नु पाप हो । स्वार्थको लागि मायाको नाटक गर्नु सबभन्दा ठूलो श्राप हो । हामीले यस्ता धेरै घटना पनि सुनेका छौं । प्रेम स्विकार नगरेमा वा कुनै बाध्यताले छाडेमा केटीमाथि तेजाब छर्किन्छ । बलात्कार गरिन्छ र अन्त्यमा हत्या समेत गरिन्छ । यसपाली पनि आफ्नो प्रेमीकालाई साथीको घर लगि बलात्कार गरियो । सोच्नुस के यो प्रेम हो त ? वा प्रेमको नाममा नाटक हो ? प्रेम त राधा कृष्ण, सिताराम, रोमियो जुलियट, हिर राँझा, लैला मज्नु, मुना मदनले गरेका थिए एक अर्कासँग । निस्वार्थ प्रेम, चोखो प्रेम । जसलाई वास्तविकतामा प्रेम भनिन्छ । प्रेम एकसँग हुन्छ । तर कसैको रुप पैसा हेरि हरेक दिन प्रेम हुनेलाई प्रेम होइन्, नाटक ढोंग गर्ने रोग लाग्या हुन्छ । यिनीहरू स्वार्थ पूरा गर्न प्रेमको नाम दिन्छन । अहिलेका युवायुवती जब प्रेम गर्छन कसैलाई सोधेर गर्दैनन । तर छोडने समयमा संसारको बहाना दिन्छ । यो कस्तो प्रेम ? जसलाई माया गरिन्छ उसलाई दुःख, चोट दिईदैन । बरु प्रेमको लायक आफूलाई बनाइ परिवारको साथ पाउन मेहनत गर्छन् ।
भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस जसलाई हामी प्रेम दिवस पनि भन्ने गर्छौ । यसको शुरुवात ईसं २६९ रोमनबाट सुरू भएको थियो । यो दिवससँग एउटा दुखान्त प्रेम कथा जोडिएको छ । रोमन सम्राटको पालामा रोमन सम्राट कलोडियस द्वितियले आफ्ना सैनिकलाई प्रेम तथा विवाह गर्नमा रोक लगाएका थिए । उनको विचारमा प्रेमले मान्छेलाई कमजोर बनाउँछ र सैनिकले प्रेम वा विवाह गरेमा युद्धसँग सम्बन्धित गोप्य सूचना बाहिर सार्वजनिक हुन्छ भन्ने डरले गर्दा कलोडियसले प्रेम तथा विवाहमा रोक लगाएका थिए । तर, सम्राटको नियम मन नपराएर रोमनका पादरी सन्त भ्यालेन्टाइनले प्रेमको पक्षमा आवाज उठाए । उनले प्रतिबन्ध उल्लंघन गर्दै धेरै सैनिकको विवाह गराए । र, यहि कारणले गर्दा सम्राटले उनलाई पक्राउ गरि मृत्युदण्डको सजाय सुनाएर जेलमा राखे । जेलमा हुँदाखेरि सन्त भ्यालेन्टाईको जेलरकी दृष्टिविहीन छोरीसँग माया बस्यो र उनले आफ्नो दुबै आखा प्रेमिकालाई दिएर मृत्युदण्ड स्विकार गरेका थिए । उनलाई सन् २६९ को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो र यहि दिनको सम्झनामा सन्त भ्यालेन्टाइनले प्रेमका लागि गरेको त्यागको सम्झना गर्दै विश्वभर हरेक वर्ष १४ फेब्रुअरीमा प्रेम दिवसको रूपमा भ्यालेन्टाइन डे मनाउने गरिएको छ । जहाँ आफू मृत्यु र प्रेमिकालाई संसार हेर्न आँखा दिइयो । एउटी प्रेमिकाले संसार हेर्न आँखा पाइन तर आफ्नो प्रेमी गुमाइन । निस्वार्थ भावमा भरिएको प्रेम ।
तर अहिले प्रेम मनमर्जी, एकल खुशी, होटल र पछि बहानावाजी..! अहिले बढि चलनचल्तीमा यस्तै प्रेम देखिन्छ । तर यसलाई प्रेम नभनौं यसले प्रेमको अपमान हुन्छ । यसलाई स्वार्थ भन्दा बेस हुन्छ सायद । ‘भ्यालेन्टाइन डे’लाई अहिलेका युवापिढीहरुले ठूलो पर्वको रूपमा बडो मनोरञ्जनका साथ मनाउँछन् । र भविष्यमा रुदै बस्छन । बाँच्नलाई ज्ञान चाहिन्छ त्यसबाट वञ्चित हुँदैछन् । प्रेममा साथ दिइन्छ । तर अहिले त ठिक उल्टो धोखा दिइन्छ । कसैको श्राप लिएर समस्यामा परि कष्टकर जीवन बिताउन बाध्य भइन्छ । जीवन सुन्दर बनाउनु छ भने सम्मान गर्न सिकौं । चाहे त्यो आफ्नो संस्कृति होस्, घर परिवार होस्, वा प्रेमीप्रेमिका होस् । सानो सानो कुरामा खुशी पाइन्छ । पहिला एकजना कमाउने हुन्थे र १० जना खाने तर पनि सहज थियाे । अब १० जनै कमाउने हुन्छन तर पनि पुग्दैन । कारण अधर्म, स्वार्थ, अन्याय र पाप बढेर हाेला । खुशी हुन सबैलाई अधिकार छ तर कसैलाई रुवाएर होइन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर
