–ज्योति झा
२८ कार्तिक । हुन त चार युग हुन्छ । सत्ययुग, द्वापरयुग, त्रेतायुग र कलयुग । हामी अहिले टेक्नोलोजी युग अर्थात सामाजिक सञ्जालको युगमा छौं । सामाजिक सञ्जाल : अर्थात कम्प्युटर, मोबाइल, इन्टरनेट प्रविधिमार्फत आफूले प्राप्त गरेका वा आफैं सिर्जना गरेका कन्टेन्ट, विचार वा फोटो अपलोड आदान प्रदान गर्ने माध्यम हो । यसले हामीलाई एक ठाउँ बसेर अर्को ठाउँ, देशमा भइरहेको गतिविधिको जानकारी गराउँछ । अहिले त सामाजिक सञ्जाल मानिसको जीवनसाथी नै बनेको छ । एक्लोपनलाई भगाउने साधन बनेको छ । प्रायः मानिस सँग मोबाइल हुन्छ नै चाहे त्यो सस्तो अथवा महंगो नै किन न होस् । र, सबैको मोबाइलमा फेसबुक, युट्युब, भाइबर, ट्वीटर र टिकटक मध्ये कुनै न कुनै एप हुन्छ नै । हुन त नेपालमा बढि प्रचलित एप भनेको फेसबुक, युट्युब र टिकटक हो । सामाजिक सञ्जालले हामीलाइ फायदा र नोक्सान दुइटै दिएको छ । र, हरेक चिजको दुईटा पाटा हुन्छ । चाहे त्यो पैसाको होस् वा स्वास्थ्यको । बढि खाएमा पेट दुख्छ । कम खाएमा भोक जाग्छ । र ब्यालेन्समा हुँदा ठिक हुन्छ ।

त्यस्तै सामाजिक सञ्जाल टेक्नोलोजीको पनि फायदा बेफाइदा छन् । पहिला झोपडीको सानो घर हुन्थ्यो । बिजुली थिएन । शर्टसर्किट पनि हुँदैनथ्यो । तर, अहिले सुविधा छ । र, प्रायः समाचारहरुमा हामीले सुन्ने घटना हो । फलानो पसल । फलानोको घरमा सर्टसर्किट भएर यतिको क्षति भयो रे ।

पहिला साधन थिएन । एक ठाउँबाट अर्को ठाउँ जान महिनौं लाग्थ्यो । अहिले सुविधा साधन दुइटै छ । र एक्सिडेन्टको घटना दिनहुँ सुन्नमा आउँछ । अनि के हामीले गाडी किन्न र चलाउन छाडेका छौं त ? छैन् नि । बरू सवारी साधनमा नियम अझ कडा बनाउनु पर्ने हो । केही कुरा अति गर्नु हुँदैन । न त कोशिश नै छोड्नु पर्छ । सामाजिक सञ्जालका पनि धेरै फाइदा छन् । सूचना आदान प्रदान छिटोछरितो गर्न सकिने, घरमै बसेर स्वदेश तथा विदेशमा प्रत्यक्ष सम्पर्क गर्न सकिने, घरमै बसेर खरिदबिक्री गर्न सकिने, एक्लोपन र आफ्ना विचार भावना राख्न सजिलो भएको छ । जोसँग किताब छैन उसले केही अध्ययन अनुसन्धान एवं लेखन गर्न चाहेमा यसले त्यो कार्यमा पनि सहयोग पुर्याउँछ । यसले व्यक्ति, परिवार, समुदाय, कार्यालय, व्यापार व्यवसाय सबैमा सहयोग गरेको छ । मैले सुरुमै भनिसकेको छु हरेक कुराको दुई पाटा हुन्छ । फाइदा र बेफाइदा र सामाजिक सञ्जालका पनि बेफाइदा छन् । यसमा बढी समय खर्च हुन्छ । समाजलाई हानी नोक्सानी गर्ने विषयबस्तु बढी शेयर हुन्छ । अश्लील भिडियो तथा फोटो खिचेर अपलोड गरिन्छ । नचिनेको व्यक्ति, अर्काको फोटो तथा भिडियोको दुरुपयोग गर्छन । सामाजिक सञ्जाललाई अध्ययन अनुसन्धानको साधन भन्दा मनोरन्जनको साधनको रुपमा प्रयोग गरिन्छ । यसमा पनी बेफाइदा छन् । हाम्रा सबै नेता के इमान्दार छन् त ? इमान्दार भएको भए आज देशको अबस्था यस्तो हुन्थ्यो ? अहिले मानिसले बढि मन पराएको एप हो टिकटक । कसैले टिकटक आईडी नखोले पनि एप सबैले राखेकै हुन्छन् ।

यसै सन्दर्भमा नेपाल पत्रकार महासंघ मधेश प्रदेशकी सदस्य बरुणा कर्ण भन्छिन्, ‘टिकटक ब्याण्ड गर्नू समस्याको समाधान होइन । फेसबुकको पनि दुरूपयोग मान्छेले गरेकै छन् । अश्लीलता फेसबुक देखि लिएर युट्युवमा परेकै छन् । यिनीहरू माथि पनि ब्याण्ड गर्नु पर्यो । नत्र टिकटक माथि मात्र किन रोक ? अश्लीलता प्रदर्शनमा रोक लगाउनु नै छ भने त्यस्को अझ उपायहरू छन् । तर त्यो गर्न सकिरहेको छैन् । यो सरकारको देखाबा र नाटक बाहेक अरु केही होइन । सबैले अश्लीलता फैलाएको छैन । जसले अश्लीलता प्रदर्शन गर्छ उसको ब्याण्ड गरियोस्, सामाजिक सञ्जालमा ध्यान दिइयोस् नत्र साइबर क्राइम र नियमन कुन कामको ?’

त्यस्तै धनुषाको बफै बस्ने त्रिलोचन ठाकुर भन्छन्, ‘राम्रो नराम्रो हरेक क्षेत्रमा छ । राम्रोलाई प्रोत्साहन र नराम्रोलाई रोक लगाउनु पर्छ । टिकटकमा पनि धेरै यस्ता राम्रो पक्ष पनि छन् । जीवन शैली, सफलताको सिंढी, धार्मिक ज्ञान र घर बसि व्यापार गर्ने सरल उपाय, मनोरञ्न पनि छन् । अहिलेको व्यस्त जीवनशैली र एक्लोपनमा रमाउने साधन हो टिकटक । तर सरकारले ठोस कदम, समस्याको समाधान खोज्न नसकेर ब्याण्ड गर्ने निर्णय कदापि पच्ने भएन ।’ उनले भने,‘ मलाइ त लाग्छ यो टिकटक भिडियोले गर्दा धेरै राजको पर्दा फ्ल्यास भयो, सरकारी कामकाजको भ्रष्टाचारी देखी लिएर नेता मन्त्रीसम्मको कर्तुत बाहिर आएकोले गर्दा आफ्नो सहुलियतको लागी टिकटक ब्याण्ड गरियो । मेरो व्यक्तिगत बुझाइमा टिकटकले गर्दा जेठानी देवरानीमा नबन्ने सम्बन्धमा पनि यसले मिठास ल्याएको छ । दाई भाइको सम्बन्धलाई नजदिक बनाएको छ । एक्छिन नै होस् तर रील बनाउन त साथ आउँछन । जसले अश्लीलता प्रदर्शन गर्दैछन् उनीहरुको ब्याण्ड गरियोस् । यसमाथि सरकारको निगरानी बढाउन जरूरी छ । नत्र अश्लीलता कहाँ छैन फेसबुक, युट्युव, स्टेज तर त्यो माथि ध्यान छैन् ।’

त्यस्तै अभियानि रुबी झा भन्छिन्, ‘सरकारको निर्णय पनि अचम्मको छ । देशको अवस्था, महंगी, भ्रष्टाचारी माथी ध्यान छैन । स्टेजमा भइरहेको अश्लीलता खुलेआम पब्लिक बिच हुन्छ । तर, मतलब छैन । न त रोकटोक नै छ । तर मनोरञ्जनको साधन टिकटक जसलाई निगरानी गरियो भने अश्लीलता माथी रोक लगाउन सकिन्छ । त्यसलाई ब्याण्ड गर्ने कुराले स्पष्ट छ कि आफनो बचाउ गर्नलाई यस्तो निर्णय गरिएको हो ।’

दन्त चिकित्सक डाक्टर सज्जन ठाकुरले प्रश्न गर्दै भनेका छन् ‘सबभन्दा बढी सामाजिक सद्भाव बिगार्ने रक्सी हो र स्वास्थ बिगार्ने चुरोट हो । बन्द गर्ने हिम्मत छ ?’ यहि सन्दर्भमा पत्रकार जिबछ उदासी भन्छन्,‘ भ्रष्टाचार र टिकटकमध्ये पहिले कसको जन्म भयो ? पक्कै भ्रष्टाचारको भयो । तर भ्रष्टाचार रोकिएन, टिकटक नै किन बन्द भयो ? पहिला भ्रष्टाचार रोकियोस् ।’

अहिलेको जल्दोबल्दो समाचार र फेसबुकमा छरिएको टपिक नै हो टिकटोक । सबैले आ–आफ्नो राय विचार राखिरहेका छन् । कसैले सराहनिय भनेका छन् भने कसैले विरोध गरिरहेका छन् । तर, समाजमा विकृति, अश्लीलता, भ्रष्टाचार हटाउन भ्रष्टाचारी, अश्लिल प्रर्दशन गर्ने व्यक्तिको पर्दाफास गर्नु पर्छ । स्कूलमा पढाइ भएन भने स्कूलको व्यवस्थापन सुधार गर्नुपर्छ । बन्द होइन । सबैको राम्रो नराम्रो पाटा छन् । राम्रोलाई हाम्रो र नराम्रोलाई राम्रो बनाउने तिर ध्यान केन्द्रित गर्नुपर्छ ।