लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री चौधरीले लिए शपथ

बुटवल, १५ बैशाख । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
शुक्रबार बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री चौधरीलाई शपथग्रहण गराएका हुन् ।
चौधरी बिहीबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए ।
शपथ ग्रहण समारोहमा निवर्तमान मुख्यमन्त्री एवं नेकपा एमालेका पोलिटब्युरो सदस्य लिला गिरीसहित गठबन्धनमा आबद्ध राजनीतिक दलका नेता कार्यकर्ता सहभागी थिए ।
मुख्यमन्त्री चौधरीले माओवादी केन्द्रका धनबहादुर मास्की राना, नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोष पाण्डेलाई विना विभागीय मन्त्री नियुक्त गरेका छन् ।
मुख्यमन्त्री चौधरी र विना विभागीय मन्त्री मास्की दाङको प्रतिनिधि सभा ३ को (क) र ३ को (ख)बाट प्रदेशसभामा निर्वाचित भएका छन् ।
मुख्यमन्त्री चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३–३ जना, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका एक–एकजना र स्वतन्त्र एक सांसद गरी ५३ जना सांसदको समर्थन छ ।
८७ सदस्यीय प्रदेश सभामा एमालेका २९ र राप्रपाका ४ गरी ३३ जना अहिलेको सरकारको विपक्षमा रहने भएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


