काठमाडौं, १५ बैशाख । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यद्वय रवि लामिछाने र स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदद्वय लामिछाने र वाग्लेले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।उनीहरूलाई शुक्रबार बिहान सभामुख देवराज घिमिरेले शपथग्रहण गराएका हुन् ।

गत आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा लामिछाने चितवन–२ र वाग्ले तनहुँ–१ बाट निर्वाचित भएका थिए । बारा–२ बाट निर्वाचित जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले भने शपथ ग्रहणमा अनुपस्थित रहे ।

यादव काठमाडौं बाहिरै रहेकाले शपथमा अनुपस्थित भएका थिए ।

गत ४ मंसिरको निर्वाचनमा तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएकाले, बारा–२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएकाले र चितवन–२ बाट निर्वाचित रास्वपा सभापति लामिछानेको नागरिकता विवादका कारण पदमुक्त भएपछि १० वैशाखमा तीन क्षेत्रमा उपनिर्वाचन भएको थियो ।

उपनिर्वाचनबाट लामिछाने फेरि भारी मतान्तरका साथ विजयी भए । तनहुँ–१ बाट निर्वाचित वाग्ले भने पहिलोपटक संसद् प्रवेश गर्दैछन् ।