जनकपुरधाम, १५ बैशाख । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिबाट सन्यास लिने संकेत गरेका छन् ।

शुक्रबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले राजनीतिबाट सन्यास लिने संकेत गरेका हुन् ।

‘पार्टीको अब हुने अधिवेशनबाट म पनि सन्यास लिने सोच्दैछु, नेपालले भने, ‘पार्टीमा युवाहरुलाई अवसर दिनुपर्छ, ७० वर्ष कटेका नेताहरुलाई आफ्नो दलबाट समेत सन्यास लिन आग्रह गर्दछु ।’

अध्यक्ष नेपालले राजनीतिमा पनि पुस्तान्तरण गरिए मात्रै देशकालागि भलो हुने जिकिर गरे । पूर्वप्रधानमन्त्री नेपालले उपनिर्वाचनले ठूला र पुराना राजनीतिक दललाई सच्चिन सन्देश दिएको बताए ।

उनले भने, ‘उपनिर्वाचनको परिणामले ठूला दलहरुकालागि शुभ संकेत होइन, अब पनि नसच्चिए ती दलहरुकालागि आउने दिन सहज हुँदैन ।’

उनले राजनीतिमा गुण्डातन्त्र हावी हुँदै गइरहेकाले नेताहरुमाथी प्रश्न चिन्ह खडा भएको बताए । वडा तहका नेतादेखि केन्द्रिय तहका नेतासम्मले पद र पैसाको दुरुपयोग गरिरहेका छन्, नेपालले भने ‘यसमा सुधार नगरिए राजनीतिक दलमाथी जनताको विश्वास गुम्नेछ ।’

अध्यक्ष नेपालले अहिलेको उपनिर्वाचनको मतपरिणामले मुख्य राजनीतिक दलहरुलाई चुनौती दिएको बताए । उनले उपनिर्वाचनमा प्राप्त भएको परिणामले मुख्य राजनीतिक दललाई चुनौती दिएको र अहिलेपनि नसँचिए, आफुभित्र रहेको कमिकमजोरीलाई सुधार नगरे आउने दिनपनि सजिलो नहुने दाबी गरे ।

अध्यक्ष नेपालले नेकपा एकिकृत समाजवादी पार्टी कुनैपनि पार्टीमा समाहित नहुने समेत बताए ।