काठमाडौं, १४ बैशाख । नेपाल समूह विजेता बन्दै एसिसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको समूह ‘ए’ को अन्तिम खेलमा कतारलाई ६८ रनले हराउँदै नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

कतार भने चारवटै खेलमा हार बेहोर्दै प्रतियोगिताबाट बाहिरियो । अन्तिम खेलमा नेपालले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको कतार २५.१ ओभरमा ८९ रनमै अलआउट भयो ।

उसका लागि जहीर इब्राहिम, खुर्राम शहजादले १५/१५ र अमिर फारूकीले १४ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । कतारलाई ८९ रनमै अलआउट गर्नेक्रमका नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामीले सानदार बलिङ गरे ।

सन्दीपले ९.१ ओभरमा ३ मेडनसहित १४ रन खर्चिएर ५ विकेट लिए । सोमपालले ७ ओभरमा एक मेडनसहित २४ रन दिएर ३ विकेट हात पारे । ललितनारायण राजवंशीको नाममा २ विकेट रह्यो ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४०.३ ओभरमा १ सय ५७ रनमा अलआउट भयो । नेपालका लागि सन्दीप लामिछानेले ५८ बलमा ६ चौकासहित अविजित ४२ रन बनाए ।

त्यस्तै, कप्तान रोहित पौडेलले २७, आसिफ शेखले १९, दीपेन्द्र सिंह ऐरीले १२, आरिफ शेख र सोमपाल कामीले ११/११ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । कतारका लागि अमिर फारूकीले ४, क्वेस अहमदले ३, गयान मुनीवराले २ र इक्रामुल्लाह खानले १ विकेट लिए । अपराजित रहेको नेपालले मलेसियालाई ६ विकेटले हराउँदै प्रतियोगितामा विजयी सुरुवात गरेको थियो ।

दोस्रो खेलमा ओमानविरुद्ध ८४ रनको जित निकालेको नेपालले वर्षाका कारण साउदी अरेबियासँग भने अंक बाँड्यो । समूह ‘ए’ बाट नेपाल र ओमानले सेमिफाइनलमा स्थान बनाए । समूह ‘बी’ बाट यूएईले सेमिफाइनलको टिकट काटेको छ । यो समूहबाट दोस्रो टोलीको रूपमा आज हङकङ र कुवेतबीचको विजेता सेमिफाइनलमा प्रवेश गर्नेछ ।

सेमिफाइनल खेल शनिबार हुनेछन् । प्रतियोगिताको फाइनल खेल १८ वैशाखमा त्रिवि मैदानमा हुनेछ । १० टोलीको सहभागिता हरेको प्रतियोगिताको उपाधि जित्ने टिमले आउँदो एसिया कप खेल्न पाउने छ । त्यस्तै, शीर्ष तीनमा रहने टोली एसिसी इमर्जिङ कपमा छनोट हुनेछन् ।