गालीगलौजको राजनीति नगर्न लामिछानेको अनुरोध

चितवन, १३ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा चितवन क्षेत्र नम्बर–२ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानेले गालीगलौजको राजनीति नगर्न अनुरोध गरेका छन् ।
बुधबार चितवनको मुग्लिन बजारमा आयोजित धन्यवाद सभालाई सम्बोधन गर्दै लामिछानेले सुसंस्कृत राजनीतिको अभ्यास गरेर मुलुकलाई अगाडि लैजानुपर्ने बताएका हुन् ।
पार्टीको २१ सिटको यात्रा फूलबाट तय भएको बताउँदै उनले मात्तिएर र आत्तिएर राजनीतिमा नहुने बताए । आफूहरु सच्चिनुपर्ने ठाउँहरु केही रहेछन् भने सबैभन्दा पहिले आफ्नो पार्टीभित्रको पङ्क्तिलाई हेर्ने उनले बताए ।
सामाजिक सञ्जालमा आफूहरुलाई माया गर्ने नाममा अन्य दलप्रति घृणा र गालीगलौज भएको देखिएको भन्दै उनले आफूले क्षमा मागेको बताए । सभापति लामिछानेले भ्रष्टाचारविरुद्ध पार्टी सधैैँ अग्रपङ्तिमा रहेर काम गर्ने स्पष्ट पारे ।
यस्तै, सोही सभालाई सम्बोधन गर्दै तनहुँ १ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले आफूहरूले पात्रहरूको विरोध नगरेर प्रवृत्तिको विरोध गरेको बताए । विपक्षीले निम्नस्तरको गाली गरे पनि आफूहरूले प्रवृत्तिको आलोचना गरेको उनले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


