काठमाडौं, १३ बैशाख । गत बैशाख १० गते आइतबार सम्पन्न उपनिर्वाचनअन्तर्गत ५६ उम्मेदवारले आफ्नो जमानतसमेत जोगाउन सकेनन् निर्वाचन आयोगका अनुसार विभिन्न पार्टी र स्वतन्त्र गरी ५६ जना उम्मेदवारको जमानत जफत भएको हो ।

उपनिर्वाचनमा कुल ६५ जना उम्मेदवार चुनावी मैदानमा उत्रेकामा ५६ जना अर्थात ८६.१५ प्रतिशत उम्मेदवारको जमानत जफत भएको आयोगले जनाएको छ । वैशाख १० मा तनहुँ–१, चितवन–२ र बारा–२ मा उपनिर्वाचन भएको थियो ।

तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले निर्वाचित हुँदा चितवन–२ मा रास्वपाकै उम्मेदवार तथा पार्टी सभापति रवि लामिछाने र बारा–२ मा जसपाका उम्मेदवार तथा अध्यक्ष उपेन्द्र यादव निर्वाचित भए । तीन उम्मेदवार निर्वाचित हुँदा बाँकी प्रतिस्पर्धीमध्येका ६ उम्मेदवारले मात्रै जमानत जोगाउन सकेका छन् ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फका उम्मेदवारले खसेको कुल सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याए जमानत जफत हुने कानुनी व्यवस्था छ । जसअनुसार उम्मेदवारले जमानत जोगाउन खसेको कुल सदर मतको १० प्रतिशत मत ल्याउनै पर्ने बाध्यता छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुनेछ’ भन्ने व्यवस्था गरिएको छ ।

जसअनुसार बारा–२ मा जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहा र एमालेका पुरुषोत्तम पौडेलबाहेक अरूले जमानत जोगाउन सकेनन् । दुई क्षेत्रमा रास्वपाले चमत्कार गर्दा बारा–२ मा भने रास्वपाले जमानत समेत जोगाउन सकेन । रास्वपाका उम्मेदवार पूर्वडीआईजी रमेश खरेलले २ हजार ८२९ मत मात्र पाउन सके ।

बारा–२ मा जनमतका कुशवाहा उपविजेता हुँदा चितवन–२ मा कांग्रेसका श्रेष्ठ र तनहुँ–१ मा कांग्रेसका गोविन्द भट्टराई निकटतम प्रतिद्वन्द्वी हुँदै पराजित बने । तीनवटै क्षेत्रमा एमालेका उम्मेदवार तेस्रो भए ।

तनहुँ–१ मा कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई र एमालेका उम्मेदवार सर्वेन्द्र खनालबाहेक अरूले जमानत जोगाउन सकेनन् भने चितवन–२ मा नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ र एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेबाहेक अरूले जमानत जोगाउन सकेनन् ।

जसले उपनिर्वाचनमा १० मत कटाउन सकेनन्

उपनिर्वाचनमा कतिपयको उम्मेदवारी लज्जास्पद छ । कतिपय उम्मेदवारले जमानत जफत मात्रै नभई १० मत पनि कटाउन सकेनन् ।

बारा–२ बाट स्वतन्त्र उम्मेदवारहरू उमेश प्रसाद यादव, जितेन्द्र प्रसाद यादव, उमाकुमारी कुशवाहा, शम्भु प्रसाद तेली, सुरेन्द्र कुमार सिंह, दुर्गा प्रसाद कोइरी, दिनेश प्रसाद यादव, सुरज साह तेली र रामबालक महरा चमारले क्रमशः ९, ८, ७, ७, ७, ६, ६, ६ र ५ मत पाए । यसैगरी स्वतन्त्र उम्मेदवार नै रहेका छोटेलाल महतो कोइरी, सिगारी देवी, विनोद कुमार कर्ण र राधिका न्यौपाने साहले पनि क्रमशः ४, ३, ३ र २ मत ल्याए ।

चितवन–२ मा पनि तीनजना उम्मेदवारले १० मत पनि कटाउन सकेनन् । स्वतन्त्र उम्मेदवारहरू रामकृष्ण ओझा, सन्तोष थापा र तारा प्रसाद पौडेलले क्रमशः ९, ३ र २ मत पाएका हुन् । यस्तै तनहुँ–१ मा नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) का गणेश श्रेष्ठले ५ मत मात्रै पाए ।