काठमाडौं, १३ बैशाख । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले नागरिकता विधेयक छिट्टै संसदमा पेस गर्ने बताएका छन् ।

राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक संविधान र कानुनअनुसार अघि बढाउन नमिल्ने भएकाले सरकारले नयाँ शिराबाट छिट्टै संसदमा ल्याउने तयारी गरेको उनले बताएका हुन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उपप्रधानमन्त्री श्रेष्ठले सांसदहरुले भनेजस्तो राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पुगेको सो विधेयकलाई कानुन, संविधान र नियमावलीअनुसार प्रमाणीकरण गरेर जान उपयुक्त र उचित नहुने निष्कर्षमा सरकार पुगेको उनले जानकारी गराए ।

नागरिकता विधेयकमा सरकारले राष्ट्रिय सहमतिमा जोड दिन चाहेको स्पष्ट पार्दै उनले यदि राष्ट्रिय सहमति भएन भने पनि संसदबाट पारित गराएर संविधानअनुसार नागरिकता पाउनेलाई नागरिकता दिन सरकार प्रतिबद्ध रहेको उपप्रधानमन्त्री श्रेष्ठले बताए ।

सरकारले अब संसदमा ल्याउने नागरिकता विधेयक संसदबाट छिट्टै पारित हुने विश्वास पनि व्यक्त गरे । उपप्रधानमन्त्री श्रेष्ठले संविधान अन्तरगत कानुन बनाएर नागरिकता प्रदान गर्ने कुरामा सरकार तयार रहेको पनि पटकपटक दोहोर्याए ।