निर्माण व्यवसायीले भौतिक मन्त्रालयका सचिवलाई कार्यकक्षमै थुने

जनकपुरधाम, १३ बैशाख । निर्माण व्यवसायीहरुले विभिन्न योजनाको काम सम्पन्न गरेपनि भुक्तानी नभएको भन्दै मधेस प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिवलाई कार्यालयमा थुनेका छन् ।
काम गरेको डेढ वर्षपछि पनि भुक्तानीको छाँटकाट नदेखिएपछि निर्माण व्यवसायीहरुले मन्त्रालयका सचिव कृष्णकुमार मिश्रलाई कार्यकक्षमै थुनेका हुन् ।
मन्त्रालयका विभिन्न योजनाहरुको विकास निर्माणको काम सम्पन्न गरेपनि भुक्तानी अहिलेसम्म नपाएको भन्दै निर्माण व्यवसायीहरुले मन्त्रालय पुगेर सचिव मिश्रको कार्यकक्षमा ताला लगाई प्रदर्शनसमेत गरेका छन् । निर्माण व्यवसायीहरुले सचिवको कार्यकक्ष अगाडी फोहोर समेत थुपारेका हुन् ।
गत आर्थिक वर्षहरुमा प्रदेश सरकारको दर्जनौं विकास निर्माणको काम गरेका उनीहरुले काम सम्पन्न गरेको साढे दुई वर्ष बितिसक्दा पनि भुक्तानी नपाएकोले बाध्य भएर बुधबार सचिव मिश्रलाई कार्यकक्षमा थुनेको निर्माण व्यवसायी खुशीलाल ठाकुरले बताए ।
उनले आफूहरुले काम सम्पन्न गरेको वर्षौं बितिसकेको अवस्थामा अब बैंकको ब्याज तिर्नसमेत समस्या भइरहँदा भुक्तानीका लागि प्रदेश सरकारले चासो नदेखाएको गुनासो गरे । बैंकको ब्याज महिनाको ८० हजार तिर्न परिरहेको उनले सुनाए ।
उनीहरुको विभिन्न ३८ वटा योजनाको ६० करोड रकम भुक्तानी गर्न बाँकी रहेको छ । यसमा अन्य मन्त्रालयहरुमा गरेको काम पनि रहेको छ ।
मधेस प्रदेश सरकारका अन्य मन्त्रालयहरुको पनि विभिन्न उपभोक्ता समितिको करिब १ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


