बारा–२ : शिवचन्द्रले उपेन्द्रसँग घटाए मतान्तर, दुबैजनाबिचको मतान्तर २ हजार ८२३

बारा, १२ बैशाख । देशको तीनवटा निर्वाचन क्षेत्रमा सम्पन्न उपनिर्वाचनअन्तर्गत चितवन–२ र तनहुँ–१ को मतपरिणाम सार्वजनिक भइसकेको छ ।
चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तनहुँ–१ मा स्वर्णिम वाग्ले निर्वाचित भएका हुन् ।
बाराको निर्वाचन क्षेत्र नम्बर–२ मा भने मतगणना अझै जारी रहेको छ । बारा–२ मा जारी मतगणनामा सत्तारुढ गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले मतान्तर घटाउँदै लगेका छन् ।
मंगलबार दिउँसो ५ हजार बढि मतले पछाडि परेका कुशवाहले साँझसम्ममा उपेन्द्रसँगको मतान्तर घटाउँदै लगेका हुन् ।समाचार तयार पार्दासम्म उपेन्द्रले २२ हजार ९६ मत पाउँदा शिवचन्द्रले १९ हजार २७३ मत ल्याएका छन् ।दुबैजनाबिचको मतान्तर २ हजार ८२३ रहेको छ ।
त्यस्तै, तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ६ हजार ३५४ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले २ हजार ६ सय मत पाएका छन् ।
आम जनता पार्टीका उम्मेदवार अरुणकुमार ज्ञवालीले भने २ हजार ३०८ मत प्राप्त गरेका छन् ।
गत ४ मंसिरमा सम्पन्न निर्वाचनमा बारा–२ मा जसपाबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति पदमा विजयी भएपछि सो क्षेत्रमा आइतबार उपनिर्वाचन भएको हो ।
कुल १ लाख ५ हजार २ सय ४८ मतदाता रहेको बारा–२ मा ६५ प्रतिशत अर्थात् ६८ हजार ८८७ मत खसेको छ । बारा–२ मा महागढी र पचरौता नगरपालिका, करैयामाई, सुवर्ण र देवताल गाँउपालिकाको ४४ वडा समेटिएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


