पोखरा, १२ बैशाख । गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले वैशाख १४ गते बिहीबार दिउँसो ४ बजेभित्र सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका हुन् ।

प्रदेश प्रमुख गुरुङले मंगलवार नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गरेका हुन् ।

संविधानको धारा १६८ को उपधारा (२)मा प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त व्यवस्था छ ।

तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीले वैशाख ९ गते प्रदेशसभामा विश्वासको मतका लागि पेश गरेको प्रस्ताव बहुमतले अस्वीकृत भएपछि नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढेको हो ।

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)ले गत चैत १० गते समर्थन फिर्ता लिएपछि अधिकारी नेतृत्वको सरकार अल्पमतमा परेको थियो । समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभाबाट दोस्रोपटक विश्वासको मत लिने मुख्यमन्त्री अधिकारीको प्रयास असफल बनेको थियो ।

गत पुस २५ मा एमालेसहित माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा अधिकारी गण्डकी प्रदेशको तेस्रो मुख्यमन्त्री बनेका थिए ।

प्रदेशसभामा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका आठ (सभामुखसहित), राप्रपाका दुई र एक स्वतन्त्र प्रदेशसभा सदस्य छन् ।