श्रममन्त्री भण्डारी र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

काठमाडौं, १२ बैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ ।
भेटका क्रममा मन्त्री भण्डारीले आफू जिम्मेवारीमा आएपश्चात आन्तरिक एवं वैदेशिक रोजगारीको क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउने सन्दर्भमा प्राप्त अवसरहरुको अधिकतम उपयोग गर्दै चुनौतीहरुलाई न्यूनिकरण गर्न नेतृत्व लिएको बताएका हुन् ।
मन्त्री भण्डारीले अमेरिकी सरकारको तर्फबाट युएसएआइडी, एमसीसीलगायत परियोजना मार्फत नेपालको विभिन्न क्षेत्रमा प्राप्त सहयोगका लागि धन्यवाद ज्ञापन गरेका थिए । अमेरिकाको श्रम विभागले सार्वजनिक गरेको प्रतिवेदनको सन्दर्भमा नेपाल सरकार सबै किसिमका बालश्रम निरुपण गर्न प्रतिवद्ध रहेको र उक्त सन्दर्भमा नेपालले आफ्नो प्रतिवेदन समेत अमेरिकाको श्रम विभागमा प्रेषित गरेकोसमेत उनले जानकारी दिए ।
रोजगारीको क्षेत्रमा देखा परेका विविध खालका समस्या, चुनौति, ठगी लगातका विषयहरुलाई न्युनीकरण गर्न आफू निरन्तर रुपमा लागिरहेको बताउँदै मन्त्री भण्डारीले सीपयुक्त जनशक्ति उत्पादन गर्ने र बिशिष्टिकृत सीपलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउने विषय आफ्नो प्राथमिकतामा रहेको बताए ।
भेटघाटका क्रममा राजदूत थम्पसनले नेपाल र अमेरिकाबीच विविध क्षेत्रमा भएको सहकार्य प्रशंसनीय रहेको बताउँदै एमसीसी परियोजना सहज रुपमा अगाडि बढेकोमा खुसी व्यक्त गरे । युएसएआइडी कार्यक्रमको समयावधि थप भएको जानकारी गराउँदै उनले वैदेशिक रोजगारीका क्रममा देखा पर्ने मानव तस्करी लगायतका समस्या समाधानका लागि नेपालले चाल्ने पहलकदमीमा अमेरिका सरकारको सदैव सहयोग रहने बताएका थिए । उनले वैदेशिक रोजगारीमा नेपाली श्रमिकहरुले प्रदर्शन गरेको अनुशासन एवं इमान्दारिताको उच्च प्रशंसासमेत गरेका थिए ।
भेटघाटमा मन्त्रालयका सहसचिवद्धय डण्डुराज घिमिरे र राजिव पोखरेल एवं उपसचिव कविराज उप्रेती लगायतका अधिकारीहरुको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


