जनकपुरधाम, १२ बैशाख । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बारा–२ मा जारी मतणनामा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् ।

अध्यक्ष यादवले १८ हजार ८०८ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका जनमत पार्टीका शिवचन्द्र कुशवाहले १५ हजार ४८५ मत पाएका छन् ।

यादव र कुशवाहबीचको मतान्तर ३ हजार ३२३ रहेको छ । तेस्रो स्थानमा रहेका नेकपा एमालेका पुरुषोत्तम पौडेलले ५ हजार ५६३ मत पाएका छन् ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले २ हजार २६८ मत पाएका छन् ।

गत ४ मंसिरमा सम्पन्न निर्वाचनमा बारा क्षेत्र नम्बर–२ मा जसपाबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति पदमा निर्वाचित भएपछि सो क्षेत्रमा आइतबार उपनिर्वाचन भएको हो ।

कुल १ लाख ५ हजार २ सय ४८ मतदाता रहेको बारा–२ मा ६५ प्रतिशत अर्थात् ६८ हजार ८८७ मतदान भएको थियो ।

बारा–२ मा महागढीमाई नगरपालिका, करैयामाई गाउँपालिका, कोल्हवी नगरपालिका, देवताल गाउँपालिका, सुर्वण गाउँपालिका र पचरौता नगरपालिकाका ४८ वटा वडा छन् ।