अदालत परिसरभित्र होहल्ला गरी अशान्ति मच्चाएको आरोपमा तीनजना पक्राउ

गोरखा, ११ बैशाख । गोरखामा अदालत परिसरभित्र होहल्ला गरी अशान्ति मच्चाएको आरोपमा तीनजना पक्राउ परेका छन् ।
जिल्ला अदालतको मेलमिलाप केन्द्रमा सम्बन्धविच्छेदको मुद्दालाई लिएर भइरहेको छलफलमा अशान्ति मच्चाउने तथा हुलहुज्जत गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।
पक्राउ पर्नेमा गोरखा नगरपालिका–३ निवासी ४८ वर्षका भीमबहादुर अम्गाई, सिरानचोक गाउँपालिका–४ निवासी ३३ वर्षका राजु नेपाली र ३० वर्षका राजिन नेपाली रहेका छन् ।
सोमबार दिउँसो करिब २ बजे अदालत परिसरमा सम्बन्धविच्छेदको मुद्दामा वादी र प्रतिवादीलगायतका व्यक्तिबीच छलफलका क्रममा उनीहरूले जथाभावी हातपात गरी आतङ्क मच्चाएको डीएसपी लामिछानेको भनाइ छ ।
पक्राउ परेकाहरूलाई सार्वजनिकस्थलमा अशान्ति मच्चाएको कसुरमा मुद्दा दर्ता गर्नाका साथै हिरासतमा राखेर जिल्ला अदालतबाट म्याद थप गराएर अनुसन्धान भइरहेको उनले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


