बारा, ११ बैशाख । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले बारा–२ को उपनिर्वाचनको मतगणनाको प्रत्यक्ष प्रसारण गर्न माग गरेका छन् ।

सुवर्ण गाउँपालिकाका चारवटा मतपेटिका सिल टुटेको अवस्थामा फेला भन्दै उनले मतगणनाको प्रत्यक्ष प्रसारण हुनुपर्ने माग गरेका हुन् ।

‘बारा–२ मा मतगणना स्थलको लाइभ हुनुपर्छ । सप्तरी–२ मा हामीले भोगिसकेका छौँ, हार्न लागेपछि जसपाले भित्र नै उत्पात र दंगा मचाएर निर्वाचन बदर गराउने कसरी कोसिस गरेको थियो । प्रहरी प्रमुखको मिलेमतो थियो,’ राउतले ट्विटरमा एउटा भिडियो पोष्ट गर्दै लेखेका छन् ।

गत ४ मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा उक्त क्षेत्रबाट जसपाका उम्मेदवार रामसहाय प्रसाद यादव निर्वाचित भएका थिए । यादव उपराष्ट्रपति बनेपछि रिक्त बारा–२ मा उपनिर्वाचन भएको हो ।

बारा–२ मा सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेबाट पुरुषोत्तम पौडेल, जनमत पार्टीबाट शिवचन्द्र कुशवाह, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेलसहित ३४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।