प्रतिनिधिसभा सदस्य उपनिर्वाचन सम्पन्न, ६० प्रतिशत मतदान

काठमाडौं, १० बैशाख । आइतबारका लागि निर्धारित बारा निर्वाचन क्षेत्र नम्बर–२, चितवन निर्वाचन क्षेत्र नम्बर–२ र तनहुँ निर्वाचन क्षेत्र नम्बर–१ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।
प्रारम्भिक विवरण अनुसार समग्रमा करीब ६० प्रतिशत मतदान भएको आयोगले जनाएको छ । जसअनुसार बारा–२ मा ६४ प्रतिशत, चितवन–२ मा ६३ प्रतिशत र तनहुँ–१ मा ५३ प्रतिशत मतदान भएकोे हो ।
यसअघि गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारा–२ मा ६३ दशमलव ५६ प्रतिशत, चितवन–२ मा ६७ दशमलव ६३ प्रतिशत र तनहुँ–१ मा ५४ दशमलव ०३ प्रतिशत मतदान भएको थियो । यस निर्वाचनमा तीनवटै निर्वाचन क्षेत्रमा ३ लाख ५३ हजार २४७ मतदाता रहेका थिए ।
मतदान सम्पन्न भएका सबै मतदानस्थलबाट आइतबार साँझदेखि नै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका ढुवानीको कार्य भइरहेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय र स्थानीय प्रशासनबाट प्राप्त जानकारी अनुसार बारा–२ का मतपेटिका मतगणनास्थल शिक्षा तालिम केन्द्र, चितवन–२ का मतपेटिका मतगणनास्थल उद्योग वाणिज्य संघको हल भरतपुरमा र तनहुँ–१ को मतपेटिका मतगणनास्थल जिल्ला समन्वय समिति परिसर दमौलीमा ढुवानी भइसक्ने छ ।
मतपेटिका मतगणना स्थलमा ल्याइसकेपछि लगत्तै प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन (मतगणना) निर्देशिका, २०७९ र मतगणनासम्बन्धी आयोगले दिएको विशेष निर्देशन बमोजिम वैशाख १२ गतेभित्र परिणाम सार्वजनिक गर्ने गरी मतगणना प्रारम्भ गरिने आयोगले जनाएको छ ।
निर्वाचनको स्वतन्त्रता र निष्पक्षतामा कहीँ कतैबाट विवाद हुन नदिन र त्यस्तो अवस्था सिर्जना भएमा निर्वाचन विवाद (सुनुवाई र निरुपण) सम्बन्धी कार्यविधि, २०७६ बमोजिम विवाद निरुपण गरी कार्य गर्न आयोगले सम्बन्धित मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिइएको आयोगले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


