यी हुन् आफैंलाई भोट खसाल्न नपाएका चर्चित उम्मेदवारहरू

जनकपुरधाम, १० बैशाख । प्रतिनिधिसभा सदस्य पदका लागि देशका तिनवटा निर्वाचन क्षेत्रमा आइतबार बिहानदेखि मतदान जारी रहेको छ ।
चितवन–२, तनहुँ–१ र बारा–२ मा प्रतिनिधिसभा सदस्य चयनका लागि बिहान ७ बजेदेखि मतदान भइरहेको छ ।
तीनवटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण तरिकाले मतदान भइरहेको छ । मतदाता भोट खसाल्नका लागि बिहानैदेखि लाइनमा बसिररहेका छन् । मतदातासँगै केही उम्मेदवारले पनि मतदान गरेका छन् ।
यद्यपि अधिकांश उम्मेदवारले भने आफैंलाई भोट खसाल्न पाएनन् । अलग निर्वाचन क्षेत्रमा मतदाता नामावली रहेकाले उपनिर्वाचनमा प्रतिस्पर्धा गरिरहेका उनीहरूले आज मतदान गर्न नपाएका हुन् ।
बारा–२ मा रास्वपाका उम्मेदवार रमेश खरेल, जनता समाजवादी पार्टीका उपेन्द्र यादव र नेकपा एमालेका पुरुषोत्तम पौडेलले मतदानको प्रक्रियामा भाग लिन पाएनन् ।
मतदाता नामावली अन्तै रहेकाले उनीहरूले आफ्नै लागि मत दिन नपाएका हुन् । एमालेका पौडेलको क्षेत्र नम्बर १ मा तथा रास्वपाका खरेलको मतदाता नामावली काठमाडौंमा रहेको छ ।
जनमतबाट उम्मेदवार रहेका शिवचन्द्र कुशवाहले भने मतदान गरेका छन् । बारा–२ मा १ लाख ५ हजार २४८ मतदाताका लागि ८३ मतदानस्थलमा १३७ मतदान केन्द्र तोकिएको छ । यहाँ दलका १२ र स्वतन्त्र २४ जना गरी ३६ उम्मेदवार चुनावी मैदानमा छन् ।
त्यस्तै, चितवन–२ मा रास्वपाका सभापति रवी लामिछानेको मतदाता नामावली काठमाडौं र नेकपा एमालेका रामप्रसाद न्यौपानेको चितवन निर्वाचन–३ मा रहेको छ ।
चितवन–२ बाट चुनावी मैदानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले भने शक्तिखोरस्थित चतुर्मुखी उच्च माविको मतदान केन्द्रमा पुगेर भोट खसालेका छन् ।
गत ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित लामिछाने नागरिकतासम्बन्धी मुद्दामा अदालतको फैसलाबाट पदमुक्त भएपछि चितवन–२ मा उपनिर्वाचन भइरहेको हो ।
चितवन–२ मा १ लाख २४ हजार ६९५ मतदाता छन् । मतदान सकिएलगत्तै मतपेटिका संकलन गरेर भरतपुर ल्याउने मुख्य निर्वाचन अधिकृतको कार्यालयको तयारी छ ।
यस्तै, तनहुँ–१ मा नेकपा एमालेका सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्ले, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनार, नेशनल मङ्गोल अर्गनाइजेसनबाट प्रेमबहादुर थापा, नेकपा समाजवादी पार्टीका गणेश श्रेष्ठ र राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर रानाले पनि आफ्नै लागि मतदान गर्न पाएनन् ।
उनीहरूमध्ये अधिकांशको मतदाता नामावली तनहुँ बाहिर छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार तनहुँ–२ मा उम्मेदवारको रूपमा नेपाली कांग्रेसका गोविन्द भट्टराई र राष्ट्रिय प्रजातन्त्र पार्टीका शोभा गुरुङले मात्र आफ्ना लागि भोट खसाल्न पाए ।
यहाँ ९ राजनीतिक दलका उम्मेदवार उपनिर्वाचनको प्रतिस्पर्धामा रहेका छन् । गत ४ मंसिरमा सम्पन्न निर्वाचनबाट विजयी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि तनहुँ–२ मा उपनिर्वाचन भइरहेको हो ।
६९ मतदानस्थलमा १५२ मतदान केन्द्र तोकिएको तनहुँ–१ मा १ लाख २३ हजार ३०५ मतदाता रहेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


