जनकपुरधाम, १० बैशाख । बाराको निर्वाचन क्षेत्र नम्बर–२ मा २५ प्रतिशत मत खसेको छ ।

आइतबार भइरहेको उपनिर्वाचनमा मध्यान्ह १ बजेसम्म २५ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

प्रमुख निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार बारा–२ मा ८३ मतदानस्थलका १३७ मतदान केन्द्रमा मतदान भइरहेको छ ।

यस निर्वाचन क्षेत्रमा १ लाख ५ हजार २४८ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बाराले जनाएको छ । जसमा ५८ हजार ९३४ पुरुष र ४६ हजार ३१४ महिला मतदाता छन् ।

बारा–२ मा जिल्लाको पचरौता नगरपालिका, महागढी नगरपालिका, सुवर्ण गाउँपालिका, देवताल गाउँपालिका, करैयामाई गाउँपालिका र कोल्हवी नगरपालिकाको वडा नम्बर–८ समावेश छ ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख सरोज चौधरीका अनुसार बारा–२ मा नेकपा एमालेबाट पुरूषोत्तम पौडेल, जसपाबाट उपेन्द्र यादव, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल, जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा, नेमकिपाबाट मुक्ति यादव, आम जनता पार्टीबाट अरूण ज्ञवालीलगायत ३६ जनाको उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।