मधेसका मुख्यमन्त्री यादवलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

जनकपुरधाम, १० बैशाख । निर्वाचन आयोगले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई स्पष्टीकरण सोधेको छ ।
आइतबार भइरहेको उननिर्वाचनको निष्पक्षतामाथि असर पर्नेगरी आचारसंहिता विपरीत कार्य गरेको भन्दै आयोगले मुख्यमन्त्री यादवलाई स्पष्टीकरण सोधेको हो ।
आयोगले आइतबार बारा निर्वाचन क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन भइरहेको समयमा निर्वाचनको स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्नेगरी अनुमतिबिना आचारसंहिताविपरीत कार्य गरेको र निर्वाचन आचारसंहिता विपरीत हुने गरी के कति कारण पचरौता नगरपालिका क्षेत्रमा गएको हो? भनेर मुख्यमन्त्री यादवसँग स्पष्टीकरण सोधेको हो ।
आयोगले त्यहाँ जानुको कारण पनि सोधेको छ । ‘तपाई त्यहाँ जाँदा प्रयोग गरेको सवारी साधन र सुरक्षा व्यवस्था सरकारी हो, होइन? तपाईंको यो कार्यले पदको गरिमा र निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ को उल्लंघन हुन्छ, हुँदैन?,’ आयोगले भनेको छ, ’निर्वाचन आचारसंहिता उलंघन गरेकोमा तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ बमोजिम कारवाही किन नगर्ने?’
आयोगले उनलाई २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेस गर्नसमेत निर्देशन दिएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


