काठमाडौं, ९ बैशाख । चालू आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक अवधिसम्ममा वाणिज्य बैंकहरूको नाफा ४८ अर्ब ३७ करोड बराबर पुगेको छ ।

वाणिज्य बैंकहरूले सार्वजनिक गरेको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार गत वर्ष चैतसम्मको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूको नाफा १० दशमलव ९२ प्रतिशतबराबरले बढेको छ ।

गत वर्षको तुलनामा १४ वटा वाणिज्य बैंकको नाफा बढेको छ भने सातवटाको घटेको छ । गत वर्ष तेस्रो त्रैमाससम्ममा वाणिज्य बैंकहरूले ४३ अर्ब ४१ करोड बराबर नाफा कमाएका थिए । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा गरेको कुल नाफाको तुलनामा यस वर्षको सोही अवधिमा सबैभन्दा धेरै नाफा गर्नेमा एभरेष्ट बैंक देखिएको छ ।

एभरेष्ट बैंकले गत वर्षको तुलनामा ६२ दशमलव ६२ प्रतिशतले नाफा बढाएर चैत मसान्तसम्ममा दुई अर्ब ४६ करोड बराबर पुर्याएको छ । त्यस्तै स्टाण्डर्ड चार्टर्ड बैंकले गत वर्षको तुलनामा ६० दशमलव २५ प्रतिशतले नाफा बढाएर रु दुई अर्ब ६१ करोड बराबर पुर्याएको छ ।

रकमका आधारमा नविल बैंकको नाफा बढी छ । यस बैंकको नाफा गत वर्षको तुलनामा यस वर्ष ५२ दशमलव ६३ प्रतिशतले बढेर पाँच अर्ब ११ करोड पुगेको छ । रकमका आधारमा बढी नाफा कमाउने बैंकमा ग्लोबल आइएमई बैंक दोस्रो र एनआइसी एसिया बैंक तेस्रो स्थानमा छन् ।

ग्लोबल आइएमई बैंकले गत वर्षको तुलनामा आफ्नो नाफा १६ दशमलव ९६ प्रतिशतले बढाएर रु चार अर्ब ३५ करोड पुर्याएको छ भने एनआइसीले ११ दशमलव ३८ प्रतिशतले बढाएर रु चार अर्ब एक करोड पुर्याएको छ ।

धेरै नाफा कमाउने बैंकहरूको सूचीमा राष्ट्रिय वाणिज्य बैंक चौथो स्थानमा छ । वाणिज्य बैंकले गत वर्षको तेस्रो त्रैमासको तुलनामा यो वर्ष ३६ दशमलव ६९ प्रतिशतले नाफा बढाएर रु तीन अर्ब ५७ करोड पुर्याएको हो ।

त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले यो अवधिमा तीन अर्ब चार करोड बराबर नाफा कमाएको छ । यो गत वर्षको तेस्रो त्रैमासको तुलनामा २२ दशमलव ९६ प्रतिशतले बढी हो ।

लक्ष्मी बैंकले गत वर्षको तुलनामा आफ्नो नाफा ४७ दशमलव ३१ प्रतिशतले बढाएर एक अर्ब १६ करोड पुर्याएको छ भने नेपाल एसबीआई बैंकले ३८ दशमलव ७१ प्रतिशतले नाफा बढाएर चैतसम्म एक अर्ब ८० करोड पुर्याएको छ ।

त्यस्तै, प्रभु बैंकले आफ्नो नाफा ११ दशमलव ५१ प्रतिशतले बढाएको छ । चैत मसान्तसम्ममा प्रभुले एक अर्ब ९५ करोड बराबर नाफा कमाएको हो । सानिमा बैंकको नाफा सात दशमलव ४७ प्रतिशतले बढेको छ ।

यो अवधिमा सानिमाको नाफा एक अर्ब ७१ करोड बराबर छ । हिमालयन बैंकको नाफा वृद्धिदर एक दशमलव ४४ प्रतिशतमा खुम्चिएको छ । हिमालयले चैत मसान्तसम्ममा रु एक अर्ब ४१ करोड नाफा कमाएको हो । कुमारी बैंकको नाफा वृद्धिदर शून्य दशमलव ९७ र एनएमबी बैंकको वृद्धिदर शून्य दशमलव ६४ प्रतिशत बराबर छ ।

कुमारी बैंकले १ अर्ब ८२ करोड बराबर नाफा कमाउँदा एनएमबीले २ अर्ब ६८ करोड नाफा कमाएको छ । गत वर्षको तुलनामा नाफा घट्नेमा कृषि विकास बैंक अग्रस्थानमा देखिएको छ ।

कृषि विकास बैंकले गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ४५ दशमलव ३६ प्रतिशतले नाफा घटेको छ । गत वर्ष चैतसम्ममा एक अर्ब ९० अर्ब नाफा कमाएको बैंकको यस वर्षको नाफा भने १ अर्ब ४ करोडमा खुम्चिएको छ ।

सिद्धार्थ बैंक लिमिटेडको पनि गत वर्षको तुलनामा नाफा घटेको छ । अघिल्लो चैत मसान्तसम्ममा दुई अर्ब आठ करोड बराबर नाफा कमाएको बैंकले यस वर्ष भने नाफा २८ दशमलव ६५ प्रतिशतले घटेर १ अर्ब ४९ करोडमा कायम भएको छ ।

सिटिजन्स बैंकको नाफा गत वर्षको तुलनामा २२ दशमलव २४ प्रतिशतले घटेर एक अर्ब २३ करोड बराबर छ । त्यस्तै, नेपाल बैंक लिमिटेडको नाफा १८ दशमलव ७२ प्रतिशतले घटेर १ अर्ब ७८ करोड बराबर छ ।

माछापुच्छ्रे बैंकको नाफा अघिल्लो वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब ५५ करोड बराबर रहेकामा १२ दशमलव ८८ प्रतिशतले घटेर एक अर्ब ३५ करोड बराबर छ । प्राइम कमर्सियल बैंक र सनराइज बैंकको नाफा गत वर्षको तुलनामा यस वर्ष क्रमशः ९ दशमलव ३५ र ८ दशमलव ३३ प्रतिशतले घटेको छ ।

चैत मसान्तसम्ममा प्राइमले २ अर्ब ४६ करोड र सनराइजले १ अर्ब १७ करोडबराबर नाफा कमाएको छ ।