काठमाडौं, ९ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी फेरि मिल्न लागेको दाबी गरेका छन् ।

कम्युनिष्ट पार्टी स्थापना दिवसका अवसरमा शनिबार खुल्लामञ्चमा आयोजित कार्यक्रममा विप्लवले यस्तो दाबी गरेका हुन् ।

उनले भने, ‘कोही पनि चिन्तित नहुनुस्, माओवादी एक हुन्छ । माओवादी भनेको विचार हो । माओवादी मिल्दै छन् । माओवादीहरुलाई एक बनाएर जानुपर्छ हाम्रो विचार यो छ ।’

केही मान्छेहरु सडकमा आए पनि त्यसको कुनै अर्थ नभएको बताउँदै उनले आफ्नो पार्टी सबै खालका संघर्षका लागि तयार भएको बताए ।

उनले माओवादीले महललाई झुपडी र झुपडीलाई महल बनाउन सक्ने पनि बताए । निर्वाचन भएको पाँच महिनासम्म पनि सरकार पूर्ण नभएको भन्दै उनले आलोचना गरे ।

अहिले पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सरकारको काउण्टडाउन सुरु भएको बताए ।उनले अहिले पैसा लुकाएर आर्थिक संकट आएको टिप्पणी गरे ।