जनकपुरधाम, ९ बैशाख । नेकपा एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको कम्युनिष्ट आन्दोलन समाप्त पारेको आरोप लगाएका छन् ।

शनिबार नेपाल कम्युनिष्ट पार्टीको ७५औं स्थापना दिवसको अवसरमा नेकपा एकीकृत समाजवादी पार्टी मधेस प्रदेशले जनकपुरधाममा आयोजना गरेको कम्युनिष्ट आन्दोलनको उपलब्धी, चुनौती र सम्भावना विषयक विचार गोष्ठीमा बोल्दै नेता खनालले एमालेमा सुरु देखिनै गुटबन्दी र पूँजीवादको नेतृत्व गरेका ओलीले पार्टीसमेत बर्बाद पारेको आरोप लगाएका हुन् ।

मदन भण्डारी फाउण्डेशनको नाममा पार्टीभित्र गुटको र ओलीको व्यक्तिगत स्वार्थपूर्तीको काम मात्र भएको उनको आरोप छ । उनले नेकपा एसको विचारधारा अपनाउन चाहे मात्र कसैसँग एकता हुने सम्भावना रहेको बताए । कार्यगत एकता भने एमाले, जसपा र विप्लवसँग पनि हुनसक्ने उनले बताए ।

दुई तिहाई बहुमतको ऐतिहासिक उपलब्धी सम्हाल्न नसक्नु, पार्टी विभाजन मात्र नभई एमालेको अवस्था नाजुक हँुदै गएपनि ओलीमा सुधारको संकेत नहुनु एमालेको बर्बादीको संकेत रहेको उनको तर्क छ ।

२०१७ देखि २०२८ सालसम्म सामन्ती राजाले जनताको हितमा गरेको विकासका काम त्यसपछि कुनै पनि पार्टीले गर्न नसक्दा जनतामा बिचलन आएको उनको आरोप थियो ।

कार्यक्रममा पार्टीको मधेस प्रदेश ईन्चार्ज धर्मनाथ प्रसाद साह, नेता सत्रुधन महतो, प्रदेश सांसद गोविन्द न्यौपाने, लाल गोइत, सुधिर साह, दिपेन्द्र यादव, राजकुमार यादवसहितको उपस्थिती थियो ।