काठमाडौं, ८ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

शुक्रबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो ।

सो भेटको बारेमा सञ्चारकर्मीले राखेको जिज्ञासाको संक्षिप्तमा जवाफ दिँदै अध्यक्ष ओलीले समसामयिक विषयमा कुराकानी भएको जानकारी दिए ।

उनले प्रधानमन्त्री दाहालसँगको भेटपछि एमाले संसदीय दलको कार्यालयमा आएर संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र प्रमुख सचेतक पदम गिरी लगायतका नेताहरूसँग पनि छलफल गरे ।

प्रधानमन्त्री दाहाल र ओलीबीचको भेटवार्ताको बारेमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रमुख सचेतक गिरीले संसदीय समितिलाई छिटोभन्दा छिटो गठन गर्ने विषयमा दुई नेताबीच कुराकानी भएको बताए ।

छलफल भए पनि कुनै निष्कर्ष भने ननिस्किएको ब्रिफिङ अध्यक्ष ओलीले आफूहरूसमक्ष गरेको उनको भनाइ छ । उनले दुबै नेताबीच कुनैपनि समझदारी भने बन्न नसकेको जानकारी दिए ।