उपनिर्वाचनपछि संघीय सरकारले पूर्णता पाउँछ : रक्षामन्त्री खड्का

काठमाडौं, ८ बैशाख । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले वैशाख १० मा हुन लागेको उपनिर्वाचनपछि संघीय सरकारले पूर्णता पाउने बताएका छन् ।
शुक्रबार सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘यस बीचमा सर्वोच्च अदालतको प्रधानन्याधीशको नियुक्ति, सुनुवाइ समितिको निर्माण, संवैधानिक परिषद्सँगसम्बन्धित ऐन पेस भइसकेको छ त्यसलाई पनि अघि बढाउने गरी प्रक्रिया अघि बढेको छ ।’
उनले आगामी आर्थिक वर्षको बजेटमा कर्णाली करिडोरलाई प्राथमिकतामा राखिने बताए । ‘अहिले मुलुकको अर्थतन्त्रको अवस्था अप्ठ्यारो छ त्यसका बाबजुत पनि कर्णाली करिडोरको सडकलाई राष्ट्रिय प्राथमिकताको राखेर बहुवर्षीय योजनामा अगाडि बढाउने योजनामा छौँ’, खड्काले भने । यसका लागि कर्णालीबाट संघमा प्रतिनिधित्व गर्ने सबै मन्त्रीहरुले प्राथमिकताका साथ काम अगाडि बढाउनुपर्ने उनको भनाइ छ ।
साथै, हाल रत्नराजमार्गको सडकको डिपिआर तयार भइ अगाडि बढाउने काम भएको र वीरेन्द्रनगर तेलपानी भुरीगाउँ सडकलाई पनि प्राथमिकतामा राखेको उनको भनाइ छ ।
कर्णाली र सुदूरपश्चिमलाई संघीय बजेटबाट धेरै पछाडि पार्ने चलन भएको भन्दै अब यी प्रदेशमा बजेटको प्राथमितामा पारिने बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


