जनकपुरधाम, ७ बैशाख । तराई मधेश लोकतान्त्रिक पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तीप्रति आपत्ति जनाएको छ ।

बिहीबार बारा-२ मा पाँचदलीय गठबन्धनले आयोजना गरेको चुनावी आमसभामा नागरिकता सम्बन्धी नयाँ विधेयक ल्याइने र छिट्टै पास गर्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तीप्रति तमलोपाले आपत्ति जनाएको हो ।

तमलोपाका केन्द्रीय समिति सदस्य उमेशकुमार मण्डलले अब फेरि नयाँ विधेयक ल्याउनु भनेको तत्कालिन राष्ट्रपतिबाट भएको संविधानको घोर उल्लंघनलाई मान्यता दिनु रहेको जिकिर गरे । यसले भविष्यमा लोकतन्त्रमाथि ठूलो खतरा उत्पन्न गर्ने उनको दाबी छ ।

उनले भने, ‘राष्ट्रपतिको पद संविधानभन्दा पनि माथि भएको स्थापित हुनेछ । निरंकूश राजतन्त्रमा शक्तिको स्रोत राजा भएजस्तै राष्ट्रपतिले गर्न थालेपछि लोकतन्त्र समाप्त हुन बेर लाग्ने छैन ।’

वर्तमान संविधानले राष्ट्रपतिलाई यस्तो अधिकार नदिएको बताउँदै मण्डलले यो पारित विधेयक जनताको हातबाट खोस्ने षडयन्त्र भएको आरोप लगाए ।

यो विधेयक वर्तमान राष्ट्रपतिको कार्यालयमा रहेको र सोको यथाशिघ्र प्रमाणिकरण गर्नुपर्ने बताउँदै उनले यसबारे तमलोपाले ज्ञापनपत्रमार्फत पहिले नै प्रधानमन्त्रीको ध्यानाकर्षण गराइसकेको जानकारी दिए ।

सार्वभौम जनताको सर्वोच्च प्रतिनिधि संघीय संसदको अधिकार र मर्यादा कायम गर्नु अहिलेको सबभन्दा जरूरी काम भएकोले संसदमा प्रतिनिधित्व गर्ने पार्टी र सांसदहरू यसबारे बोल्न सक्नु पर्ने नेता मण्डलको भनाइ छ ।