महोत्तरी, ८ असोज । महोत्तरीमा एक महिलाको शव फेला परेको छ ।

जिल्लाको दक्षिणवर्ती मटिहानी नगरपालिकामा घाँस काट्न गएकी सोही नगरपालिका–१ धिरापुर बस्ने ४० वर्षीया अमना खातुनको शव फेला परेको हो ।

मृतकको शव गाउँदेखि करिब एक किलोमिटर पूर्व बिगही खोलाको खोइर भन्ने ठाउँको बाँसघारीमा फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

मृतकको शरीरका अङ्गहरुबाट अत्यधिक रक्तश्राव भएको देखिएकोले कसैले उनको हत्या गरेर फालेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक चन्देश्वर यादवले बताए ।

शुक्रवार अपरान्ह घरबाट घाँस काट्न मेलापात गएकी अमना घाम डुब्न लाग्दासमेत घर नफर्केपछि ससुरा नथुनी अन्सारीले धिरापुरस्थित प्रहरी चौकीमा जानकारी गराएका थिए ।

घटनाबारे जानकारीपश्चात प्रहरीले खोजवीन गर्दा शुक्रवार राति साढे ८ बजे अमना मृत अवस्थामा फेला परेकी थिइन् । डीएसपी यादवले घटनास्थललाई रातीदेखि नै नियन्त्रणमा लिइएको र हत्याको कारणबारे अहिले केही खुल्न नसकेको जानकारी दिए ।