जनकपुरधाम, ६ असोज । आगामी ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुलेसँगै मधेस प्रदेशका जिल्लाहरूमा फाराम भर्नेहरूको भीड लागेको छ ।

प्रदेशका ८ वटै जिल्लाका जिल्ला प्रहरी कार्यालयहरूमा भदौ ३० गतेदेखि नै युवायुवतीदेखि ५४ वर्ष ननाघेकाहरूको घुइँचो लागेको छ ।

मधेस प्रदेशमा विगत ८ दिनमा ५८ हजार ६८८ जनाले फाराम भरेका छन् । जसमध्ये ४७ हजार ८४० पुरुष र १० हजार ८४८ महिला रहेका छन् ।

सबभन्दा बढी बारा जिल्लामा ७ हजार २३७ पुरुष र २ हजार २१५ महिला गरी कूल ९ हजार ४५२ जनाले फाराम भरेको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।

त्यस्तै, सप्तरीमा ६ हजार ५१२ पुरुष र १ हजार ४८० महिला गरी जम्मा ७ हजार ९९२, सिरहामा ४ हजार ९२८ पुरुष र १ हजार १९७ महिला गरी कुल ६ हजार १२५, धनुषामा ५ हजार ८६९ पुरुष र १ हजार ३१ महिला गरी जम्मा ६ हजार ९०० जनाले फाराम भरेका छन् ।

उता, रौतहटमा ६ हजार ३८८ पुरुष र १ हजार ७९ महिला गरी जम्मा ७ हजार ४६७, महोत्तरीमा ५ हजार २५४ पुरुष र १ हजार २३० महिला गरी कूल ६ हजार ४८४, सर्लाहीमा ६ हजार २६५ पुरुष र १ हजार ४५५ महिला गरी जम्मा ७ हजार ७२० र पर्सामा ५ हजार ३८७ पुरुष तथा १ हजार १६१ महिला गरी जम्मा ६ हजार ५४८ जनाले फाराम भरेका हुन् ।

इच्छुक नेपाली नागरिकले म्यादी प्रहरीमा भर्नाका लागि आज बेलुकी ५ बजेसम्म आवेदन दिन सक्नेछन् ।