जनकपुरधाम, १ चैत । प्रत्येक वर्ष होली पर्वको अवसरमा मिथिला नाट्यकला परिषद् (मिनाप) ले जनकपुरधाममा आयोजना गर्दै आएको दुई दिवसीय होरी महोत्सव र महामुर्ख सम्मेलन यसवर्ष पनि भव्यतापूर्वक मनाउने निर्णय गरेको छ ।

मिनापले यसवर्षको होरी महोत्सव चैत ३ गते बिहीबार र महामुर्ख सम्मेलन ४ गते शुक्रबार मनाउने निर्णय गरेको मिनापका महासचिव शैलेन्द्र मल्लिकले जानकारी दिए ।

उनले पहिलो दिन बिहीबार डम्फा वादन र उद्घाटन, होलीमाथि विशेष चर्चा परिचर्चा, हास्य कवि गोष्ठी, निश्चित मापदण्ड अनुसार होली गायन, उत्कृष्टाको चयनसँगै पुरस्कार वितरण गरिने जानकारी दिए ।

त्यस्तै, दोस्रो दिन शुक्रबार विशिष्ट शैलीमा उद्घाटन, होली गायन, मिनापको हास्य शैलीको व्यंग्यपूर्ण नाट्य प्रस्तुती, मूर्ख एवं महामूर्खको उपाधि वितरणका साथै मूर्ख र महामूर्खलाई सम्मान तथा प्रमोपहार वितरण गरिने महासचिव मल्लिकले बताए ।

वि.सं. २०६१ सालबाट जनकपुरधाममा महामूर्ख सम्मेलनको आरम्भ गरिएको थियो ।

२०६१ सालमा महामूर्खको उपाधी मैथिली कवि नरेश ठाकुर, २०६२ मा तत्कालीन नेकपा एमालेका नेता शीतल झा, २०६३ मा तत्कालीन जनकपुर नगरपालिकाका मेयर हरिबहादुर बिसी, २०६४ मा तत्कालीन सदभावना पार्टीका नेता ओमकुमार झा, २०६५ मा वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल, २०६६ मा पूर्वमन्त्री रामचन्द्र झा, २०६७ मा नेपालका चर्चित राजनीतिक विश्लेषक सिके लाल, २०६८ मा साहित्यकार रामभरोष कापडि भ्रमर, २०६९ मा नेपाली काँग्रेसका संसदीय दलका नेता रामसरोज यादव, २०७० मा डा. विजयकुमार सिंह, २०७१ मा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुधन महतो, २०७२ मा समसानघाटको स्वरुप परिवर्तन गरी आधुनिक स्वर्गद्वार बनाएर चर्चा बटुलेका पवन सिंघानीयालाई महामुर्खको उपाधी प्रदान गरिएको थियो ।

त्यस्तै २०७३ सालमा सप्तरीको मलेठमा नेकपा एमालेले गरेको मेची महाकाली अभियानको क्रममा प्रहरीको गोली लागि ५ जनाको मृत्यु भएपछि अन्तिम समयमा होली महोत्सव कार्यक्रम मिनापले स्थगित गरेको थियो ।

२०७४ मा महामुर्खको उपाधी तमलोपाका अध्यक्ष वृषेशचन्द्र लाल, २०७५ मा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहलाई प्रदान गरिएको थियो ।

त्यस्तै २०७६ सालमा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र २०७७ सालमा महजोडी मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई महामुर्खको उपाधि प्रदान गरिएको थियो ।