इन्जिनियर्स एसोसिएसनको मतगणनामा मतदान अधिकृत यादवले धाँधली गरिरहेको आरोप

जनकपुरधाम, ३० फागुन । नेपाल इन्जिनियर्स एसोसिएसनको जनकपुरधाममा जारी मतगणनामा धाँधली भईरहेको आरोप लगाइएको छ ।
३३ औँ कार्यकारिणी तथा दोस्रो प्रादेशिक कार्यसमितिको नयाँ नेतृत्वका लागि शुक्रबार सम्पन्न निर्वाचनको मतगणना जनकपुरधामस्थित अधिकृत संगमको सभाहलमा शनिबार रातिदेखि जारी रहेको छ ।
मतगणना एकदम सुस्त तरिकाले कछुवाको गतिमा भईरहेको र आफूहरुले लिड गरिरहेकोले मतदान अधिकृत रामरतन यादवले गणनामा झेली गरेको ननपोलिटिकल प्यानलबाट सभापतिका उम्मेदवार गौरी पण्डितले आरोप लगाए । उनले मतगणना सुस्त गतिमा मनोमानी तरिकाले भईरहेकोले यसमा आफूहरुको आपत्ति रहेको बताए ।

मतगणनाको क्रममा ढिला गरि प्रतिनिधि छनोट गर्दापनि निर्वाचन समितिले शनिबारदेखि मतगणना गरेको भन्दै पण्डितले निर्वाचन समितिले मनोमानी ढंगले सुस्त गतिमा मतगणना गरिरहेको आरोप लगाए ।
उनले मधेस प्रदेशको मतगणना सकाएर मात्र केन्द्रको मतगणना गर्न आग्रह गरेका छन् । बाकसबाट निकालिसकेको मत गन्ती गरेर मात्र अन्य प्रक्रिया अगाडि बढाउन उनले माग गरे । उनले बाहिर राखिएका मत परिवर्तन पनि हुनसक्ने आफूहरुको आशंका रहेको बताए ।
शुक्रबार राति ११ बजेदेखि मतगणना सुरु भई ६ सय मत गन्दा आफ्नो समुह अधिकांश पदमा एकसय मतले अग्रस्थानमा रहेकाले ढिलासुस्ती ढंगले मतगणना गर्ने गरेको, प्रतिनिधिलाई जतिबेला पनि बाहिर निकाल्ने गरेकोलगायतका आरोप लगाउँदै उनले भने,‘मतपेटिका खोलिसकेपछि मतगणनालाई तिव्रता नदिएको तथा प्रतिनिधिलाई जुनसुकैबेला बाहिर निकाल्दिने गरेकाले मतगणनामा धाँधली भईरहेको छ ।’

मधेस प्रदेश समितिमा कुल २ हजार १९९ मतदातामध्ये शुक्रबार १ हजार ८ जनाले मतदान गरेका थिए । त्यस्तै, वीरगञ्जस्थित बुथमा ३२० जनाले मतदान गरेका थिए । वीरगञ्ज च्याप्टरमा कुल ५७० मतदाता छन् ।
यता मतदान अधिकृत रामरतन यादवले यस आरोपबारे भने केही बोल्न चाहेनन् ।
चुनावमा कांग्रेसको एक्लै, माओवादी, जसपा र एसमाजवादीको पनि बेग्ला बेग्लै प्यानल बनाइएको छ । त्यसै गरि ननपोलिटिकल प्यानल गरि कुल पाँच समुह चुनावी मैदानमा छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


