जनकपुरधाम, २९ फागुन । सेवाग्राहीसँग घुस लिएको आरोप खेपिरहेका जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१३ का वडाध्यक्ष शुभनारायण मण्डलले विशेष अदालतबाट सफाइ पाएका छन् ।

नागरिकता प्रमाणपत्रको सिफारिस गर्न घुस लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा उनीविरुद्ध गत वर्ष आरोप पत्र दायर गरेको थियो । विशेष अदालतमा सुनवाईपछि उनलाई सफाइ दिइएको हो ।

विशेष अदालतबाट सफाइ पाएपछि मण्डलले नेपालको न्याय प्रणालीप्रति पहिले देखिनै विश्वास रहेपनि अब त्यो विश्वास झनै बढेको प्रतिक्रिया दिए ।

उनले भने ‘नेपालको न्याय प्रणालीमाथी मलाई विश्वास थियो, त्यसैले आज म विशेष अदालतबाट सफाइ पाएको छु ।

अदालतबाट सफाइ पाएर जनकपुरधाम फर्केका वडाध्यक्ष मण्डललाई एमालेका कार्यकर्ताहरुले भव्य स्वागत गरेका थिए ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साहले समेत उनलाई आफ्नो वडा कार्यालय अगाडी स्वागत गरेका थिए ।