महोत्तरी, २७ फागुन । मिथिला माध्यमिकी परिक्रमामा सहभागी एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा महोत्तरीको भंगहा नगरपालिका–३ भंगहा टोल बस्ने ५५ वर्षीया तिलिया देवी मुसहर रहेको प्रहरीले जनाएको छ ।

भंगहा नगरपालिका–९ कञ्चनवनस्थित आधारभुत विद्यालयमा विश्राम गरिरहेकी महिला शुक्रबार बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घटना विषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।यसअघि परिक्रमाको पाँचौं दिन गत सोमबार जलेश्वरमा बेहोस भएर एक महिलाको मृत्यु भएको थियो ।

माध्यमिकी परिक्रमामा सहभागी भारतको बिहार राज्यस्थित मधुवनी जिल्लाको भाइसपट्टी थाना बासुपट्टी बस्ने राजेन्द्र साहकी ५० वर्षीया पत्नी प्रमिला देवी साहको मृत्यु भएको थियो ।

जलेश्वर नगरपालिका–२ साउजीपट्टी परिक्रमास्थल नजिक नुहाउने क्रममा रिँगटा लागेर बेहोस हुँदा उपचारको क्रममा शान्ति कमिटी अस्पतालमा उनको मृत्यु भएको थियो ।