जनकपुरधाम, २६ फागुन । मिथिलाको महाकुम्भ मानिने १५ दिने माध्यमिकी परिक्रमा आज भगवान राम र माता सीताले त्रेतायुगमा रंग अबिर दलेर होली खेलेको स्थल कञ्चनवन पुगेको छ ।

धनुषाको मिथिलाबिहारी नगरपालिकास्थित कचुरी मठबाट सुरु भएको परिक्रमा सातौं दिन आज महोत्तरीको भंगहा नगरपालिका–९ हरिनमरीस्थित कञ्चनवन आइपुगेको हो ।

सप्तमी तिथिमा ध्रुवकुण्डबाट परिक्रमाको डोला कञ्चनवन पुग्ने गर्छ । यहाँ इच्छावती गंगा र वीरजा गंगाको संगमस्थल रहेको छ ।

इच्छावती नदीले भगवान रामलाई होली उत्सव मनाउन सहयोग गरेको जनविश्वास रहेको पाइन्छ । यो स्थानमा भगवान राम र माता जानकीले होली पर्व मनाएका थिए । यहाँ परिक्रमामा सहभागीहरु रंग अबिरबाट होली खेल्ने गर्छन ।

परिक्रमामा मिथिला विहारीको डोला संगै कञ्चनवन पुगेका परिक्रमामा सहभागीहरुले एक अर्कालाई रंग अबिर दलेर होेली पर्व मनाएका छन् । कञ्चनवनमा परिक्रमामा सहभागीहरुले रंग अबिर खेलेपछि मिथिलाञ्चलमा होली पर्वको आगमन भएको मानिन्छ ।

परिक्रमा डोला कञ्चनवनमा पुगेपछि होली खेल्ने परम्परा रहेको संस्कृतिविदहरु बताउँछन् । त्यहाँको होली मिथिलाञ्चलका अधिकांश मठ मन्दिरका महन्थ, सामाजिक, सांस्कृतिक, राजनीतिक क्षेत्रमा आबद्ध व्यक्तिहरुको सहभागिता हुन्छ ।

फागुन शुक्ल प्रतिपदाबाट सुरु हुने मिथिला मध्यमा परिक्रमा फागुन शुक्ल सप्तमीमा मिथिला विहारीको डोलासंगै ध्रुवकुण्डबाट कञ्चनवन पुग्ने गर्छ ।

किशोरीजी डोलाका प्रमुख महन्थसमेत रहेका प्रेस काउन्सिलका सदस्य नवलकिशोर शरणका अनुसार जुन होली कञ्चनवनमा हुने गरेको छ त्यस्तो मिथिलाञ्चलमा कही कतै हुँदैन । एकातिर रंगअबिर, अर्कोतर्फ होरैया गान, फेरी हजारौं सहभागिता देखिने गर्छ । यहाँको होली आनन्दमय हुन्छ ।

कञ्चनवन प्रवेश गर्ने परिक्रमा यात्रीलाई भंगहा नगरपालिकाले भव्य स्वागत गरेको नगरप्रमुख संजिव साहले बताए । स्वागतको लागि ठाउँठाउँमा प्रवेशद्वार, पण्डाल, आवासको व्यवस्था गरिएको छ । उनका अनुसार तीर्थालुको लागि पुवा, खीर, सर्वत, अबिर, फूलमालाको व्यवस्था गरिएको छ भन होली मिलन समारोह र सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको छ ।

यसैबिच, परिक्रमा यात्रीलाई स्वागत गर्न भंगहा नगरपालिकाले आजलाई सार्वजनिक विदा घोषणा गरेको छ । आज परिक्रमा यात्री तीर्थालुहरु कञ्चनवनमा विश्राम गर्ने हुँदा नगरभर सार्वजनिक बिदा दिइएको नगरप्रमुख साहले जानकारी दिए ।

कञ्चनवनमा त्रेतायुगमा भगवान राम र सीताले रंग अविर खेलेर होली मनाएको धार्मिक विश्वास छ । आज पनि यहाँ आएका श्रद्धालुहरुले एक–अर्कालाई रंग, अविर लगाएर होली खेलेका छन् ।

वसन्त ऋतुको आगमनसँगै फागुन शुक्ल प्रतिपदाबाट शुरू हुने यो महाकुम्भ १५ दिनमा जनकपुरधाम पुगेर फागु पूर्णिमाको दिन परिक्रमा सम्पन्न गरिने परम्परा छ ।