स्वास्थ्य चौकी उद्घाटनमा विवाद, प्रहरीको गोली लागेर एक युवक घाइते
बारा, १४ कार्तिक । बाराको फेटा गाउँपालिकामा स्वास्थ्य चौकी उद्घाटन गर्ने विषयलाई लिएर दुई समूहबीच विवाद हुँदा प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर एक युवक घाइते भएका छन् ।
शनिबार बिहान फेटा गाउँपालिका–३ स्थित स्वास्थ्य चौकी उद्घाटन गर्ने क्रममा गाउँपालिका अध्यक्ष रुस्तम अन्सारी नेतृत्वको टोली र विपक्षी समूहबीच विवाद सुरु भएको थियो । विपक्षी समूहले उद्घाटन कार्यक्रम रोक्न खोजेपछि दुवै पक्षबीच तनाव उत्पन्न भएको हो ।
विवादले उग्ररूप लिएर दुई समूहबीच झडप हुन थालेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन लाठीचार्ज गरेको थियो । त्यसक्रममा प्रहरीमाथि ढुंगामुढा हुन थालेपछि जवाफी कारबाहीस्वरूप गोली चलाइएको मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी ओमप्रसाद अधिकारीले जानकारी दिए ।
उनका अनुसार भीड नियन्त्रणबाहिर जान थालेपछि प्रहरीले हवाई फायर गरेको थियो । तर, घटनामा एक युवकलाई गोली लागेको छ । ती युवकलाई कसको गोली लागेको हो भन्नेबारे भने यकिन हुन नसकेको प्रहरीले जनाएको छ ।
फेटा गाउँपालिका–३ स्थित स्वास्थ्य चौकी तथा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय नजिकै घटना भएको हो ।
गोली लागेर घाइते भएका युवकलाई उपचारका लागि वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा भर्ना गरिएको मधेश प्रहरीले जनाएको छ ।
घाइते युवकको पहिचान तथा गोली लाग्नुको यकिन कारणबारे थप विवरण सार्वजनिक हुन बाँकी छ । घटनापछि उक्त क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर





