सीमा चुनौतीबीच सशस्त्र प्रहरीको सक्रियता

जनकपुरधाम, १० बैशाख । धनुषा जिल्लामा सीमा सुरक्षा तथा अवैध कारोबार नियन्त्रणमा सशस्त्र प्रहरी बलको सक्रियता उल्लेखनीय रूपमा बढेको देखिएको छ ।
चालु आर्थिक वर्ष २०८२/०८३ मा सशस्त्र प्रहरी बल नेपाल धनुषाले ३ करोड ८१ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध चोरीछलीका सामान बरामद गरेको जनाएको छ ।
सशस्त्र प्रहरी बलको १९औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा जिल्ला इकाइले चालु आर्थिक वर्षभर गरिएको कार्यसम्पादन सार्वजनिक गर्दै सीमा क्षेत्रमा निगरानी, अपराध नियन्त्रण र जनसुरक्षाका क्षेत्रमा सक्रियता तीव्र पारिएको जानकारी दिएको हो ।
सशस्त्र प्रहरी धनुषाका प्रहरी उपरीक्षक भीम विष्टका अनुसार हालसम्म ३ करोड ८१ लाख २० हजार ७ सय ४३ रुपैयाँ बराबरका अवैध सामान बरामद गरी आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ ।
खुला सीमाबाट हुने चोरीछली, अवैध ओसारपसार तथा बदलिँदो सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै ‘बोर्डर अवधारणा’लाई प्रभावकारी रूपमा कार्यान्वयन गरिएको उनले बताए ।
उनका अनुसार सीमा क्षेत्रमा बढ्दो जोखिम, क्षेत्रीय सुरक्षा चुनौती तथा बदलिँदो भू–राजनीतिक अवस्थालाई ध्यानमा राखेर सशस्त्र प्रहरीलाई रणनीतिक रूपमा परिचालन गरिएको छ । विशेषगरी भारतसँगको खुला सीमालाई लक्षित गर्दै निगरानी र गस्ती थप सशक्त बनाइएको जनाइएको छ ।
सामाजिक तथा जनचेतनामूलक कार्यक्रमअन्तर्गत सशस्त्र प्रहरीले लागुऔषधविरुद्ध ४८ वटा, विपद् व्यवस्थापनसम्बन्धी ४१ वटा तथा विपद् सिमुलेशनका ६ वटा कार्यक्रम सञ्चालन गरेको जनाएको छ । यसका साथै विपद् उद्धार कार्यमा पनि इकाइले सक्रिय भूमिका निर्वाह गरेको छ ।
प्रहरी उपरीक्षक विष्टका अनुसार चालु आवमा १० जना घाइतेको उद्धार, ९ जनाको शव व्यवस्थापन तथा २४ पटक आगलागी नियन्त्रणमा सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी बल मधेश प्रदेश प्रमुख कृष्ण ढकालले आगामी दिनमा सीमा सुरक्षा, अपराध नियन्त्रण र जनसुरक्षाका क्षेत्रमा अझ प्रभावकारी ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले सीमावर्ती जिल्लाहरूमा सुरक्षा चुनौती थप जटिल बन्दै गएकाले समन्वयात्मक ढंगले काम गर्नुपर्ने आवश्यकता औंल्याए ।
स्थापना दिवसको अवसरमा आयोजित विभिन्न खेलकुद तथा प्रतिस्पर्धात्मक कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने सहभागीहरूलाई पुरस्कार वितरणसमेत गरिएको थियो ।








तस्बिरहरू: घनश्याम मिश्र
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


