जनकपुरधाममा वडा स्तरीय क्रिकेटको महाकुम्भ सम्पन्न, वडा नं. १४ च्याम्पियन

जनकपुरधाम, २२ चैत । स्थानीय स्तरमा खेलकुद प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित ‘वडा स्तरीय क्रिकेट प्रतियोगिता २०८२’ भव्य रूपमा सम्पन्न भएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाको आयोजना तथा वडा नम्बर–१० को समन्वयमा सञ्चालन भएको प्रतियोगिताको फाइनल खेल रोमाञ्चक प्रतिस्पर्धाबीच सम्पन्न हुँदै वडा नं. १४ विजेता बनेको हो ।
दर्शकहरूको उत्साहजनक उपस्थितिमा सम्पन्न फाइनल खेलमा वडा नं. १४ ले वडा नं. १७ लाई ७ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।
प्रतियोगिताले जनकपुरधाममा क्रिकेटप्रतिको बढ्दो आकर्षणलाई झल्काउनुका साथै स्थानीय खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने उत्कृष्ट मञ्च प्रदान गरेको जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोजकुमार साहले बताए ।
फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको वडा नं. १७ ले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेन । निर्धारित २० ओभरको खेलमा १९.३ ओभरमै अलआउट हुँदै टोलीले १०९ रनको सामान्य लक्ष्य प्रस्तुत गर्यो । टोलीका लागि प्रदीपले सर्वाधिक ३९ रन बनाउँदा अविषेकले १८ रनको योगदान दिए । अन्य ब्याट्सम्यानहरू भने विपक्षी टोलीको सशक्त बलिङ आक्रमणका कारण टिक्न सकेनन् ।
वडा नं. १४ का बलरहरूले सुरुदेखि नै दबाब सिर्जना गरेका थिए । राजीव यादवले घातक बलिङ गर्दै ४ ओभरमा मात्र १० रन खर्चेर ५ विकेट लिएर विपक्षी टोलीलाई धराशायी बनाए । त्यस्तै, रुपेश यादव र राहुल यादवले २–२ विकेट हात पार्दा कृषमोहनले १ विकेट लिए ।
१०९ रनको लक्ष्य पछ्याएको वडा नं. १४ ले सुरुदेखि नै आक्रामक रणनीति अपनायो । टोलीले मात्र १०.४ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य सहजै पूरा गर्यो । रुपेश यादवले ४५ रनको आकर्षक इनिङ्स खेले भने राजा यादवले ३१ रन बनाए । अन्त्यतिर चन्दन १५ रन र आकाश यादव ७ रनमा अविजित रहँदै टोलीलाई शानदार जित दिलाए ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका राजीव यादव ‘म्यान अफ द म्याच’ घोषित भए । त्यस्तै, प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै रुपेश यादव ‘म्यान अफ द सिरिज’ घोषित भए । उत्कृष्ट ब्याट्सम्यानको उपाधि पंकज यादवले प्राप्त गर्दा उत्कृष्ट बलरको उपाधि अनिकेत यादवले जिते ।
प्रतियोगिताका विजेता वडा नं. १४ लाई नगद २५ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिएको छ भने उपविजेता वडा नं. १७ ले १५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ । ‘म्यान अफ द सिरिज’ लाई ५१०० रुपैयाँ, उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानलाई जनही ३१०० रुपैयाँ नगदसहित ट्रफी प्रदान गरिएको आयोजकले जनाएको छ ।
विजेता तथा उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार वितरण गर्दै जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख साहले खेलकुद क्षेत्रको विकासका लागि आफू सदैव प्रतिबद्ध रहेको बताए ।
उनले विजेता तथा उपविजेता टोलीलाई प्रदान गरिएको नगद पुरस्कार आफ्नो व्यक्तिगततर्फबाट सहयोग गरेको उल्लेख गर्दै यस्ता प्रतियोगिताले युवाहरूलाई सकारात्मक दिशातर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरे ।
प्रतियोगिताको सफल आयोजनामा वडा नम्बर–१० का वडाध्यक्ष मिथिलेश कर्णको विशेष भूमिका रहेको बताइएको छ । उनको सौहार्दपूर्ण सहयोग, समन्वय र व्यवस्थापनका कारण प्रतियोगिता व्यवस्थित र सफलतापूर्वक सम्पन्न भएको आयोजक समितिले जनाएको छ ।
स्थानीय स्तरमा आयोजना गरिएको यस प्रतियोगिताले क्रिकेटप्रतिको आकर्षण बढाउनुका साथै नयाँ प्रतिभा पहिचान र विकासमा महत्वपूर्ण योगदान पुर्याएको छ ।
खेलकुदमार्फत सामाजिक एकता, अनुशासन र स्वस्थ प्रतिस्पर्धाको भावना अभिवृद्धि गर्न यस्ता गतिविधिहरू अपरिहार्य रहेको सरोकारवालाहरूको भनाइ छ ।






















तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


