जनकपुरधाममा पुनः अतिक्रमण रोक्न गृहमन्त्री महतो सक्रिय

जनकपुरधाम, २२ चैत । जनकपुरधामका मुख्य सडक तथा फुटपाथ अतिक्रमण हटाउने अभियानलाई तीव्रता दिइएको छ ।
मधेश प्रदेशका गृहमन्त्री फकिरा महतोले फुटपाथ खाली गराएसँगै अनुगमनलाई निरन्तरता दिन सम्बन्धित निकायलाई कडा निर्देशन दिएका छन् ।
पछिल्लो समय जनकपुरधामका विभिन्न स्थानमा सडक पेटीमै व्यापार व्यवसाय सञ्चालन हुँदा पैदल यात्रुहरूलाई आवतजावतमा समस्या हुँदै आएको थियो । यसलाई मध्यनजर गर्दै स्थानीय प्रशासन र जनकपुरधाम उपमहानगरपालिकाले संयुक्त रूपमा अतिक्रमण हटाउने अभियान सञ्चालन गरेका हुन् ।

गृहमन्त्री महतोले फुटपाथ खाली गराउनु मात्र पर्याप्त नभई त्यसको दीर्घकालीन व्यवस्थापन आवश्यक रहेको उल्लेख गर्दै अनुगमनलाई प्रभावकारी बनाउन जोड दिएका छन् ।
‘एकपटक हटाएर मात्रै समस्या समाधान हुँदैन, पुनः अतिक्रमण हुन नदिन नियमित अनुगमन अनिवार्य छ,’ उनले भने ।
जिल्ला प्रशासन कार्यालय धनुषा र सुरक्षा निकायलाई लक्षित गर्दै उनले नियम उल्लंघन गर्नेहरूलाई कानुनी दायरामा ल्याउन पनि निर्देशन दिएका छन् ।
साथै, नगर क्षेत्रलाई व्यवस्थित, सुरक्षित र सुन्दर बनाउने उद्देश्यले यस अभियानलाई निरन्तरता दिइने जनाइएको छ ।
स्थानीयवासीले पनि फुटपाथ खाली भएपछि आवतजावत सहज भएको प्रतिक्रिया दिएका छन् । तर, केही व्यवसायीहरूले वैकल्पिक व्यवस्थाको माग गर्दै आफ्ना समस्या समाधान गर्न सरकारसँग आग्रह गरेका छन् ।
जनकपुरधामलाई व्यवस्थित शहरका रूपमा विकास गर्ने लक्ष्यसहित सुरु गरिएको यो अभियान प्रभावकारी रूपमा अघि बढेमा दीर्घकालीन रूपमा ट्राफिक व्यवस्थापन र शहरी सौन्दर्यमा सुधार आउने विश्वास गरिएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


