जनकपुरधाम, २२ चैत । महोत्तरी जिल्लाको समग्र विकासलाई लक्षित गर्दै महोत्तरी–३ का प्रतिनिधिसभा सदस्य उज्ज्वल कुमार झाले संघीय सरकारसमक्ष बहुआयामिक सुधारका मागसहित विस्तृत ज्ञापनपत्र पेश गरेका छन् ।

सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र शाहलाई बुझाइएको उक्त ज्ञापनपत्रमा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, पर्यटन तथा खेलकुद क्षेत्रका दीर्घकालीन समस्याको समाधानका लागि ठोस पहल गर्न आग्रह गरिएको छ ।

सांसद झाले शिक्षातर्फ विद्यालय व्यवस्थापनमा सुधार, शिक्षक दरबन्दी मिलान, विज्ञान प्रयोगशाला स्थापना र प्राविधिक शिक्षालय सञ्चालनलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । साथै जलेश्वरस्थित क्याम्पसलाई त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसका रूपमा विकास गर्नुपर्ने माग समेत अघि सारेका छन् ।

स्वास्थ्य क्षेत्र सुधारका लागि जलेश्वर प्रादेशिक अस्पताललाई संघीय सरकार मातहत ल्याई स्तरोन्नति गर्नुपर्ने, विशेषज्ञ चिकित्सकको अभाव पूर्ति गर्नुपर्ने तथा स्थानीय तहका अस्पताल निर्माण कार्यलाई तीव्रता दिनुपर्ने माग गरिएको छ । विपन्न नागरिकका लागि निःशुल्क उपचार सुनिश्चित गर्नुपर्ने विषयमा समेत उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।

कृषि तथा सिँचाइतर्फ सुनकोशी मरिन डाइभर्सन आयोजना शीघ्र सम्पन्न गरी सिँचाइ सुविधा विस्तार गर्नुपर्ने, किसानलाई मल–बीउको सहज उपलब्धता, बाली क्षतिपूर्ति व्यवस्था र किसान परिचयपत्र लागू गर्नुपर्ने माग गरिएको छ ।

पूर्वाधार विकासमा जलेश्वरमा सुख्खा बन्दरगाह निर्माण, जनकपुर–जलेश्वर सडक स्तरोन्नति, औद्योगिक करिडोर स्थापना तथा बाढी नियन्त्रणका लागि तटबन्ध मर्मत र पानी निकास व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ ।

त्यसैगरी, धार्मिक पर्यटन प्रवर्द्धनका लागि जलेश्वरनाथ महादेव मन्दिर लगायतका धार्मिक स्थलको विकास तथा जलेश्वरमा बहुउद्देश्यीय रंगशाला निर्माणको प्रस्ताव पनि ज्ञापनपत्रमा समेटिएको छ ।

सांसद झाले महोत्तरीबाट ठूलो संख्यामा युवाहरू वैदेशिक रोजगारीमा जान बाध्य भएको उल्लेख गर्दै उनीहरूका सन्तान कुलतमा फस्ने जोखिम बढिरहेकोतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् । साथै, लेनदेन (साहु–महाजन) समस्याले विपन्न वर्गलाई थप मारमा पारिरहेको भन्दै यसको समाधानका लागि विशेष नीति आवश्यक रहेको बताएका छन् ।