जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष महासेठ रास्वपामा प्रवेश

जनकपुरधाम, २४ माघ । जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष जितेन्द्र महासेठ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।
जनकपुरधाममा शनिबार आयोजित विशेष पार्टी प्रवेश कार्यक्रममा रास्वपाका प्रवक्ता तथा धनुषा–३ का प्रतिनिधिसभा उम्मेदवार मनिष झाले महासेठलाई पार्टीमा स्वागत गरेका हुन् ।
उक्त कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टीका राधाकृष्ण साह (किसन), रामलक्षण यादवलगायत विभिन्न दल परित्याग गरेका दर्जनौँ नेता तथा कार्यकर्ता पनि रास्वपामा प्रवेश गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता झाले जनकपुरधाम परिवर्तनको केन्द्र रहेको उल्लेख गर्दै यस भूमिले हरेक राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको बताए ।
उनले आगामी दिनमा पनि जनकपुरधामका नागरिकले परिवर्तनको अभियानलाई साथ दिने विश्वास व्यक्त गरे ।
‘अबको राजनीति पद, पैसा र भाषणमा सीमित हुँदैन । अब विचार र पुस्ताको राजनीति हुन्छ,’ झाले भने । उनले सुरक्षित क्षेत्रबाट चुनाव लड्न सुझाव आए पनि आफूले धनुषा–३ नै रोजेको स्पष्ट पारे ।
पार्टी प्रवेशपछि महासेठले सुशासनको उद्देश्यसहित रास्वपामा आबद्ध भएको बताए । उनले नागरिकसम्म प्रभावकारी सेवा प्रवाह गर्न सक्ने क्षमता रास्वपामै देखेर पार्टी रोजेको उल्लेख गरे ।
रास्वपाको नेतृत्वमा सरकार बन्ने विश्वास व्यक्त गर्दै महासेठले भविष्यमा पार्टी सरकारमा पुगेपछि सुशासनसम्बन्धी आफ्ना एजेण्डा अघि सार्ने बताए ।
कार्यक्रममा सहभागी नेताहरूले रास्वपाको संगठन विस्तार र जनसमर्थन बढ्दै गएको दाबी गर्दै आगामी निर्वाचनमा पार्टीलाई मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

