सर्लाही, २४ माघ । सर्लाहीको ईश्वरपुर नगरपालिका–७ पोखरी टोलका २० वर्षीय युवक अनिल महतो मृत अवस्थामा फेला परेका छन् ।

विवाहको तयारीमा रहेका अनिल शनिबार बिहान आफ्नै घरबाट करिब एक किलोमिटर टाढा रहेको पोखरीमा मृत भेटिएका हुन् । प्रहरीका अनुसार अनिल शुक्रबार रातिदेखि बेपत्ता भएका थिए ।

घरबाट निस्किएपछि उनीसँग सम्पर्क हुन नसकेपछि परिवारले खोजी सुरु गरेको थियो । शनिबार बिहानसम्म पनि फेला नपरेपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा निवेदन दिइएको थियो ।

शनिबार दिउँसो स्थानीयले पोखरीमा शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । घटनास्थलबाट अनिलको मोबाइल फोनसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी सरोज राईका अनुसार घटनाबारे प्रारम्भिक अनुसन्धान भइरहेको छ । मृत्युको कारण खुल्न बाँकी रहेको र पोस्टमार्टम रिपोर्टपछि थप विवरण आउने उनले बताए ।

परिवारका अनुसार अनिल राजमिस्त्रीको सहायक (लेबर) का रूपमा काम गर्दै आएका थिए । मृतकका बुवा रामप्रताप महतोले छोरा शुक्रबार राति खाना खाएर सुत्न गएको र शनिबार बिहान कोठाको ढोका खुल्लै भेटिएको जानकारी दिए ।

‘छोरा बिहानैदेखि सम्पर्कमा नआएपछि हामीले खोजी गर्यौं,’ उनले भने, ‘कतै फेला नपरेपछि प्रहरीमा निवेदन दिएका थियौं ।’

अनिलको बुधबार बिहेको छेका तय गर्ने कार्यक्रम रहेको परिवारले जनाएको छ । विवाहको तयारी भइरहेका बेला भएको यो घटनाले परिवारसहित सम्पूर्ण गाउँ शोकमा डुबेको छ ।

शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा पठाइएको भए पनि निष्पक्ष छानबिनको माग गर्दै परिवारले शव बुझ्न अस्वीकार गरेको छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।