सप्तरीको रुपनीमा शंकास्पद वस्तु विस्फोट, चार बालक घाइते

सप्तरी, २४ माघ । सप्तरीको रुपनी गाउँपालिका–६ स्थित दुधैला खोलामा शंकास्पद वस्तु विस्फोट हुँदा चार जना बालक घाइते भएका छन् ।
प्रहरीका अनुसार वनभोजका क्रममा खोलामा फेला परेको रकेटजस्तो देखिने वस्तुलाई बालकहरूले चुल्हो नजिक राखेका थिए । सोही क्रममा अचानक विस्फोट हुँदा चारै जना बालक घाइते भएका हुन् ।
विस्फोटबाट उनीहरूको शरीरका विभिन्न भागमा छर्रा लागेको जनाइएको छ ।
घाइते बालकहरूलाई तत्काल उपचारका लागि छिन्नमस्ता अस्पताल, राजविराज लगिएको छ । हाल उनीहरूको अवस्था सामान्य रहेको र चिकित्सकको निगरानीमा उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ ।
घटनास्थलमा प्रहरी टोली पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरिसकेको छ । उक्त वस्तु कहाँबाट आएको र कसरी खोलामा पुगेको भन्ने विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसैबीच, प्रहरीले सर्वसाधारणलाई शंकास्पद तथा विस्फोटकजस्तो देखिने वस्तु भेटिएमा नछुन र तुरुन्त नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

