निधिमाथि दुर्व्यवहारविरुद्ध कांग्रेस कार्यकर्ताद्वारा जनकपुरधाममा प्रदर्शन, महामन्त्रीद्वयको पुत्ला दहन

जनकपुरधाम, २२ पुष । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिमाथि काठमाडौंको केन्द्रीय कार्यालय नजिकै भएको दुर्व्यवहारको विरोधमा कांग्रेसका कार्यकर्ताहरू जनकपुरधाममा विरोध प्रदर्शनमा उत्रिएका छन् ।
विरोध स्वरूप पिडारी चोकमा चक्काजाम गरिएको छ भने कांग्रेस महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाको पुत्ला दहन गरिएको छ ।
काठमाडौंमा भएको घटनापछि सानेपामा पत्रकारहरूसँग कुरा गर्दै नेता निधिले दुर्व्यवहारलाई निन्दनीय भनेका छन् । उनले भने, ‘उछ्शृंखल तत्वहरू नै थिए । यो निन्दनीय काम हो। यसैमा अलमलिने काम पनि छैन ।’
निधिका अनुसार मधु आचार्यले पार्टीको केन्द्रीय कार्यालय घेर्ने कुनै कार्यक्रम नभएको स्पष्ट पारेको भए पनि उनलाई असभ्य व्यवहार गरिएको थियो ।
‘विशेष महाधिवेशनको आयोजक पक्षधर यहाँ थिएनन् । अब कोही हुलदंगा गर्ने, गुण्डागर्दी गर्ने उछ्शृंखल तत्वहरू आए । त्यो हुनु हुँदैन थियो,’ निधिले भने ।
घटनामा निधिले गाडीबाट ओर्लिएपछि दुई–चार जना अपरिचित व्यक्तिहरूले उनको बाटो रोक्ने प्रयास गरेको र गाडीको हुट नै फर्काएको बताएका छन् । उनले थपे, ‘तिनीहरू कांग्रेसी थिएनन् । मुखबाट रक्सी गन्हाइरहेको थियो । उछ्शृंखल तत्वहरू नै थिए । यो निन्दनीय काम हो ।’
नेता निधिले प्रशासनको सुरक्षा जिम्मेवारीमा पनि प्रश्न उठाएका छन् । उनका अनुसार पार्टीको आफ्नै कार्यालयमा प्रशासनिक सुरक्षा सुनिश्चित गर्न आवश्यक थियो । ‘हामी आउँदा गाडी ब्लक थियो । कार्यालयभित्र प्रवेश गर्न सक्ने अवस्था थिएन,’ उनले भने ।
यस घटनाप्रति विरोध स्वरूप जनकपुरधामका कांग्रेस कार्यकर्ताहरूले पिडारी चोकमा चक्काजाम गरेका छन् । साथै, विरोधको रूपमा महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापाको पुत्ला दहन गरिएको छ । प्रदर्शनकारीहरूले नेता निधिमाथि भएको दुर्व्यवहार स्वीकार्य छैन भन्दै विरोध जनाएका छन् ।



तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

